विद्यार्थी गुणीय चक्र (एस.क्यू.सि) ८ औं सम्मेलनमा चन्द्रागिरि नगरका ३ विद्यालयको सहभागिता

Thankot Times

थानकोट । 

काठमाडाैंमा ८ औँ विद्यार्थी गुणीय चक्र (एस.क्यू.सि)सम्मेलन सम्पन्न भएको छ ।

सानो भर्याङस्थित स्वस्तिश्री गुरुकुल आई.बी.वर्ल्ड स्कुलमा सम्पन्न सो सम्मेलनमा चन्द्रागिरि नगरका तीन सहित ६ वटा विद्यालयका ७१ जना विद्यार्थीहरू सहभागी भएका थिए । 

विद्यार्थीहरुका आफ्ना समस्याहरुको आफैँ पहिचान गरी वैज्ञानिक विधि, प्रक्रिया र विभिन्न साधनहरुको प्रयोग गरी त्यसको समाधानको रणनीति तय गर्दै समस्याको समाधान गर्न सक्ने क्षमताको विकास गर्ने उद्देश्यले आयोजना गरिएको सो सम्मेलनमा चन्द्रागिरि नगरका ब्राइट फ्युचर मावि, ऋचा सहशिक्षा सदन र जेसिस इन्टरनेशनल स्कुल तथा स्वस्तिश्री गुरुकुल आई.बी.वर्ल्ड स्कुल, निर्वाना एकेडेमी स्वयम्भू र पिनाकल एकेडेमी कलङ्कीका विद्यार्थी सम्मलित थिए । 

सो सम्मेलनमा सहभागी विद्यार्थीहरुले मामला अध्ययन (केस स्टडी ), वादविवाद, चित्रकला प्रतियोगिता, कोलाज, कथा निर्माणका साथै सामुहिक छलफल गरी निष्कर्ष निकाल्न अभ्यास गरेका थिए ।

सो सम्मेलनले विद्यार्थीहरुमा नेतृत्व विकासका साथै सर्वगुण सम्पन्न व्यक्तित्व निर्माण गर्ने, वाककला, सामाजिक सिपका साथै कुटनैतिक सिपको विकासमा सहयोग पुर्याउने अपेक्षा लिइएको आयोजक क्वेस्ट नेपालको मातहतमा क्रियाशील एफिनिटी हब जनाएको छ ।

सो क्रममा विद्यार्थीहरुले दिनानुदिन भोग्नु परिरहेका शैक्षिक, व्यवहारिक, अनुशासनलगायत विविध समस्यासँग सम्बन्धित रहेर ती समस्याहरुको पहिचान गरी त्यसको उचित र दीर्घकालिन समाधान खोज्ने प्रयास लगायतका विषयमा छलफल तथा कार्यशाला सञ्चालन गरिएको थियो ।

सो अघि बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले सम्मेलनको उद्घाटन गर्नुहुँदै शिक्षाबिना कुनै पनि देश विकासमा अगाडि बढ्न नसक्ने, समाज सभ्य र सुसंस्कृत हुन नसक्ने, संमृद्ध हुन नसक्ने भएकाले शिक्षाको क्षेत्रमा नेपाल सरकारका तीन वटै तहले शिक्षामा सबैभन्दा बढी लगानी गरेको धारणा राख्नुभएको थियो। 

सो क्रममा मन्त्री चित्रकारले नेपालमा बसेर केही गर्न सकिँदैन भन्ने मनोविज्ञानलाई हटाएर स्वदेशमै बसेर पनि धेरै कुरा गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउन सो सम्मेलन सार्थक रहोस भन्ने धारणा राख्नुहुँदै आजका युवाहरुलाई शिक्षाको सर्वाङ्गीण विकासमा जोड दिएर आफ्नै मातृभूमिमा बस्ने वातावरण बनाउनु अपरिहार्य भएको बताउनुभयो ।

विद्यार्थी गुणीय चक्र (एस.क्यु.सी) का संस्थापक अध्यक्ष प्रा.दिनेशप्रसाद चापागाईले कार्यक्रमको अवधारणा प्रष्ट पार्नुहुँदै विद्यार्थीहरुले प्रतिस्पर्धा आफैँसँग र सहकार्य अरुसँग गर्नु पर्ने कुरामा जोड दिनुभयो ।

सो समारोहका विशेष अतिथि क्वेस्ट नेपालका वरिष्ठ उपाध्यक्ष श्री नारद रिजालले स्कुलभित्र रहेका समस्याहरुको पहिचान गरी आफैँ त्यसको ठोस समाधान निकाल्न सक्छन् भन्दै कार्यक्रमलाई शुभकामना दिनु भएको थियो ।

कार्यक्रमका सभाध्यक्ष एफिनिटी हबका संयोजक लक्ष्मीराज दाहालले विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष, सिपयुक्त व्यक्ति निर्माण गर्नमा यस विद्यार्थी गुणीय चक्रले महत्वपूर्ण भूमिका खेल्न सक्ने कुरालाई सुन्दर कवितामार्फत व्यक्त गर्नु भएको थियो ।

स्वस्तिश्री गुरुकुलकी प्रिन्सिपल नेहा के.सी.ले यस विद्यार्थी गुणीय चक्रमार्फत विद्यार्थी अनुशासित बन्न, भविष्यमा कुनै पनि क्षेत्रमा नेतृत्व लिन सक्ने सिपयुक्त गुणहरु विकास गर्न यस सम्मेलनले सहयोग गर्ने छ भन्दै सम्मेलनको सफलताको शुभकामना दिनुभएको थियो ।

सो कार्यक्रममा क्वेस्ट नेपालका केन्द्रीय सदस्य तथा ब्राइट फ्युचर माविका अध्यक्ष मोहनकुमार कार्की, क्वेस्ट नेपालका उपाध्यक्ष देवराज घिमिरे, वरिष्ठ सल्लाहकार निराजन अधिकारी, क्वेस्ट नेपाल नेशनल काउन्सिलका अध्यक्ष सुवर्ण के.सी., क्वेस्ट नेपालकी अध्यक्ष सुरिना सुनयनी गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

सो क्रममा सम्मेलनका दाैरान विभिन्न विधाका प्रतिस्पर्धी विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाण-पत्र वितरण गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *