देशभरका सरकारी शिक्षक माइतीघरमा, चन्द्रागिरि नगरका शिक्षकहरू के गर्दैछन् ?
थानकोट ।
नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौं आएका शिक्षकहरु माइतीघर मण्डलामा आजपनि विरोध कार्यक्रम गर्ने भएका छन्।
हिजो बुधबार दिनभर माइतीघर क्षेत्रमा प्रदर्शन गरेका शिक्षक कर्मचारीहरूको आजपनि विरोध कार्यक्रम जारी राख्ने भएका हुन् ।
सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन थालेका हुन् । जसमा सबै खाले शिक्षक संघ संगठनले समर्थनसहित सहभागिता जनाएका छन् ।
शिक्षक महासंघले अस्थायी प्रकृतिका शिक्षकहरु राहत, साबिक उमावि, अस्थायी/करार, शिक्षक सिकाए अनुदान, विशेष शिक्षा, प्राविधिक धार लगायतका शिक्षकहरुको लागि आन्तरिक परीक्षाबाट स्थायी हुनुपर्ने, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना गरी स्थायी प्रकृयामा लानुपर्ने, निवृत्तिभरण तथा पेन्सनको लागि अस्थायी सेवा अवधिको पनि गणना हुनुपर्ने, प्रधानाध्यापकको नियुक्ति शिक्षक सेवा आयोगबाट हुनुपर्ने, ट्रेड युनियनको अधिकार हुनुपर्ने लगायतको १७ बुँदे माग राख्दै आन्दोलन गर्ने घोषणा गरेको छ ।
यसैबीच, चन्द्रागिरि नगरपालिका क्षेत्र भित्रका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यालय कर्मचारीहरूले शिक्षा विधेयकका प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघको आह्वान काठमाडौंमा भइरहेको आन्दोलनमा साथ दिने भएका छन् । हिजो बुधबार चन्द्रागिरि नगरका सरकारी/सामुदायिक विद्यालयका शिक्षकहरू माइतघर पुगी विरोध कार्यक्रममा सहभागी भएका छन् ।
नेपाल शिक्षक संघ संघीय प्रतिनिधि समेत रहेका थानकोटस्थित मंगलोदय माविका प्रधानाध्यापक कवीन्द्र गोपालीले महासंघको आह्वानमा ऐक्यबद्धता जनाउँदै आज पनि चन्द्रागिरि नगर क्षेत्रमा रहेका सबै सरकारी/सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरू माइतीघर जाने बताए ।