नैकाप (सिँर) को नाम कसरी जुर्यो होला ? यो लेख पढेपछि भन्नुहुनेछ मलाई यो चाँहि तथ्य ठीक लाग्यो

Thankot Times

नागढुंगा नाकामा सडक मार्ग छिचोलिनु अघिसम्म तीर्थयात्री, पदयात्री, व्यापारी नेपाल मण्डल (काठमाडाैं खाल्डो) भएर बाहिर जाने र नेपाल मण्डल भित्रिने बेला देखिनै भीमफेदी-धोर्सिङ-चित्लाङ हुँदै थानकोट भएर नैकाप भन्ज्याङ हुँदै पैदल नै काठमाडौँ उपत्यका प्रवेश गर्नु पर्दथ्यो ।
उपत्यका बाहिर जाने र भित्रिने मुख्य बाटो पनि यही नै थियो ।
सडक मार्ग बनेपछि काठमाडाैं उपत्यका प्रवेश गर्ने पश्चिमको मूल मार्ग नै रहेको छ, अझ भनाैं राजधानी काठमाडाैंलाई अन्य जिल्लासँग जोड्ने प्रमुख सडक मार्ग नै यही हो ।

त्यस समय नयाँ नैकाप भन्ज्याङमा रहेको डाँडो काटेर बाटो खोल्ने क्रममा दुई डाँडाको बीचमा ‘काप’ पर्यो । त्यो ‘नयाँ काप’ ले चिनियो । त्यसलाई न्हसिकाप भनियो ।

सेाही न्हसिकाप’बाटै अपभ्रंश हुँदै नैकाप रहेको भन्ने जनश्रुति पाइन्छ ।

कसरी रह्यो ढुङ्गाअड्डाको नाम ? धेरैलाई यो बारेमा पत्तो नै छैन

नेपाल भाषामा डाँडा काटेर निकास खोलिएको ठाउँलाई त्यस समयमा ‘न्हसिकाप’ भनिन्थ्यो । ‘मञ्जुश्रीले चोभारको डाँडो काटेर पानीलाई निकास दिएको किवंदन्ती प्रख्यात छ । तर पानी निकासका लागि काटिएको स्थान चोभार मात्र थिएन ।

अन्य तीन स्थानमा पनि पहाड काटिएका थिए । यस्ता स्थानलाई नेपाल भाषामा ‘न्हसिकाप’ भनिन्छ । यी ठाउँलाई क्वदुवा न्हसिकाप (कटुवालदह), क्वयना न्हसिकाप (चोभार), आर्यघाट न्हसिकाप, गोकर्ण न्हसिकाप भनिएको उल्लेख छ’ (इतिहासकार हरिराम जोशी) ।

नैकापलाई बुढापाका मानिसहरु अझै नेपालभाषामा ‘सिँर’ भनेर चिन्दछन् । ‘उतिबेला काठमाडौँका दरबारका लागि चाहिने काठ मच्छेगाउँ, चम्पादेवी क्षेत्रको वनबाट रुख काटेर यहाँका बासिन्दाहरूले बोकेर दरबारसम्म पुर्याउनु पर्दथ्यो’ त्यसैले यहाँका मनिसलाई नेपाल भाषामा ‘सिँरयामी’ अर्थात काठ बोक्ने जिम्मा पाएका ठाउँको बासिन्दा भन्ने जनाउँछ’ । (डा. गोपाल धौबन्जार) ।
त्यसैले नैकापलाई सिँर भनिएको रहेछ ।

आजभन्दा झन्डै तीन सय पचास वर्ष अघि पनि रानीपोखरीको अभिलेखमा नैकाप नाम उल्लेख भएको पाइन्छ । कान्तिपुरका राजा प्रताप मल्लको रानीपोखरी अभिलेख वि.सं. १७२६ मा उल्लेख भए अनुसार रानीपोखरीमा देश विदेशका हजारौं तीर्थस्थलको जल ल्याइ हालिएको छ । ..त्यस्मा ‘श्री नैकाप’को जल पनि हालिएको उल्लेख छ । यस अलवा यस क्षेत्रका ‘इन्द्रदह’ र ‘मातातीर्थ’को जल पनि रानीपोखरीमा राखिएको उल्लेख छ (डा. ईश्वर बराल सम्पादित ‘सयपत्री’) । मेरो विचारमा ‘श्री नैकाप’ भन्नाले अहिलेको दुई नदी बल्खुखोला (इन्द्रमती) र ठाडोखोला (इच्छुमती) को संगममा रहेकोे ऐतिहासिक विष्णुदेवी क्षेत्र तीर्थस्थलको जल नै रानी पोखरीमा हालिएको हुनुपर्दछ । किन भने त्यसबेला यो स्थान पनि नैकापमै पर्दथ्यो ।

थंक्वाठ/थानकोट गोदाम (चाैर) को नाम कसरी जुर्यो होला ? (दुर्लभ भिडिओसहित)

‘आधुनिककालका राजाहरु गीर्वाणयुद्ध विक्रम शाह र राजेन्द्र विक्रम शाहले क्रमश वि.सं. १८६६ र १८७५ मा गरिदिएका लिखहरुमा ‘नैकाप भन्ज्याङ उल्लेख छ ’ डा. गोपाल धौबन्जार) । त्यससमय यस भेगका अरु गाउँ जस्तै नैकाप पनि पाटन ललितपुर इलाकाभित्रै पर्दथ्यो ।
अहिलेको नयाँ नैकाप र पुरानो नैकाप त्यसबेला एउटै ‘नैकाप’ थियो । पछि पंचायतकालमा दुई पंचायत बनाउँदा मात्र वल्लो भागलाई ‘नयाँ नैकाप भन्ज्याङ’ र पल्लो भागलाई ‘पुरानो नैकाप भन्ज्याङ’ भनिएको हो ।

२०३७ सालमा धेरै गाउँ पंचायत एकीकृत गर्ने सिलसिलामा यी दुवै गाभिएर एउटै पंचायत पनि बनेको थियो । यो धेरै समय रहेन पछि पुनः छुटृा छुटृै गाउँ पंचायत बने, ०४६ सालपछि गाउँ विकास समितिका रुपमा रहेका थिए ।
हाल दुवै चन्द्रागिरि नगर पालिकाभित्र पर्दछ, नयाँ नैकाप चन्द्रागिरि नगरपालिका वडा नं. १४ मा र पुरानो नैकाप चन्द्रागिरि वडा नं. १३ मा ।

-गोपीचन्द्र कार्कीको प्रकाशोन्मुख पुस्तक ठाउँका नाम बारेबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *