नागढुङ्गा-मुग्लिन सडक विस्तार, ट्रकका लागि अलग्गै लेन
थानकोट ।
सडक विस्तारको काम भइरहेको पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा-मुग्लिन सडकखण्डमा ट्रकका लागि छुट्टै लेन निर्माण गरिने भएको छ । गह्रौँ मालसामान बोकेका ट्रक छिटो गुड्न नसक्ने र अन्य सवारीसाधन तिनलाई उछिनेर जान समस्या हुने भएपछि ट्रकका लागि अलग्गै लेन निर्माण गर्न लागिएको हो । “यो सडकखण्ड अन्तर्गत साँघुरो, घुमाउरो, उकालो स्थानमा सामान बोकेका ट्रकका लागि अलग्गै लेन बनाइने छ,” नागढुङ्गा-मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख किरण कार्कीले भने ।
सडक विस्तारको काम सकिएपछि अगाडि भएको ट्रकले कतिबेर बाटो देला भनेर कुर्नु नपर्ने उनले दाबी गरे । “साँघुरो स्थानमा तीन वटा लेन हुने छ । एउटामा ट्रक गुड्ने छ भने अर्को दुई वटामा अन्य सवारीसाधन । यसले समयको बचत र दुर्घटनाको जोखिम पनि कम हुने छ,” प्रमुख कार्कीले भने । पूर्व र पश्चिमसँगै पोखराबाट काठमाडौँ जाने आउने सवारीसाधनको चाप मुग्लिन-नागढुङ्गा सडकखण्डमा पर्ने गरेको छ । यही चापलाई दृष्टिगत गरी भारी सवारीसाधनका लागि अलग्गै लेनको व्यवस्था गर्न लागिएको प्रमुख कार्कीले जानकारी दिए ।
वर्षामा रोकिएन काम
नागढुङ्गा-मुग्लिन सडक विस्तार आयोजनालाई तीन वटा खण्डमा विभाजन गरी काम भइरहेको छ । आयोजनाको काम बर्सातमा पनि काम नरोकी गरिएको आयोजनाका प्रमुख कार्कीले जानकारी दिए । “बर्सात भनेर काम रोकिएन, निर्माणले तीव्रता भने भदौ १५ पछि पाउने छ । अहिले सडकको दायाँबायाँ पर्खाल लगाउने, कल्भर्ट निर्माण, सडकको क्षेत्रलाई कायम राखेर सम्याउने र पहिरो नजाने स्थानमा भित्ता काट्ने काम भइरहेको छ,” उनले भने ।
गत मङ्सिर महिनामा ठेक्का लागे पनि पश्चिम क्षेत्रमा काम गर्न तयारी नपुगेकाले जेठबाट मात्र काम सुरु भएको आयोजनाले जानकारी दिएको छ । यो सडक साँघुरो र जङ्गल क्षेत्रमा नौ मिटर कायम गरिने छ भने बजार र बस्ती क्षेत्रमा चार लेन ३० मिटरसम्मको फराकिलो पार्ने गरी काम भइराखेको प्रमुख कार्कीले जानकारी दिए । पश्चिम क्षेत्रको चितवनतर्फ १७ र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति हुने छ । नागढुङ्गादेखि मुग्लिनसम्मको ९५ किलोमिटर सडक स्तरोन्नति गरिने छ । बाँकी धादिङ कार्यालयले हेर्ने गरी विभाजन गरिएको छ ।
पश्चिम क्षेत्रको सडक विस्तार र स्तरोन्नति गर्ने ठेक्का पाएको शर्मा जेडआइसिजी जेभीसँग सो खण्डमा पुल निर्माणका लागि पनि सम्झौता भएको छ । मलेखुसम्म गोमती, चरौदी, खटौटी, हुग्दी, मौवा र बारबाङ खोलामा गरी छ वटा नयाँ पुल निर्माण हुने छन् । खटौटीमा पुल निर्माण कार्य अगाडि बढेको छ । यो खण्डमा मलेखु, शीतलबजार, बेनीघाट, विशालटार, मझिमटार, फिस्लिङ, कुरिनटार, लेवाटार, रमाइलोडाँडा र मुग्लिनमा गरी १० स्थानमा आकाशे पुल निर्माण गरिने छ । यस खण्डको चार अर्ब ८० करोड रुपियाँको लागतमा निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको छ ।
मुग्लिन नारायणगढ सडकखण्डमा पहाड काट्दा पहिरोको समस्या भोगेकाले यस क्षेत्रमा त्रिशूली नदीतर्फको भागमा पर्खाल लगाएर सडक फराकिलो बनाउने कामलाई प्राथमिकता दिने आयोजनाले जनाएको छ । “साँघुरो ठाउँमा पहाड, भित्तो काटिने छ । विकल्प रहेको स्थानमा पहाड काटिने छैन, यो खण्डमा करिब ३५० रुख कटान गर्नुपर्ने हुन्छ । सडक विस्तार र स्तरोन्नतिपछि कम्तीमा २० वर्ष सडक टिक्ने गरी डिजाइन भएको छ,” आयोजना प्रमुख कार्कीले भने ।