ब्राजिलमा सम्पन्न ‘मिनी ओलम्पिक’मा चन्द्रागिरिकी १२ वर्षीया पौडीबाज श्रयला महर्जन

थानकोट ।
चन्द्रागिरि नगरपालिका १५ तीनथानाकी १२ वर्षीया पौडी खेलाडी श्रयला महर्जनले ब्राजिलको रियो डि जेनेरियोमा सम्पन्न आइएसएफ यु-१५ जिम्न्यासाइड २०२३ मा प्रतिस्पर्धा गर्दै पहिलो अन्तर्राष्ट्रिय अनुभव हासिल गरेकी छिन्।
अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आइएसएफ) को आयोजनामा यहि भदौ ३ देखि १० गतेसम्म सञ्चालन भइरहेको प्रतियोगितामा चन्द्रागिरि नगरपालिका १५ तीनथानाकी श्रयलाले ५० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गरेकी थिइन्।
उनको इभेन्टसमा ३५ जना स्कुले खेलाडीहरुले भाग लिएकी थिए। त्यसमा श्रयलाले पदक जित्न नसकेपनि नेपाली खेलाडीहरु आरुशा शाक्य र संयमी घिमिरेलाई भने पछि पार्न सफल भइन्।
आफनो पहिलो अन्तर्राष्ट्रिय खेल भएकोले त्यसमा पदकको लक्ष्य नराखेको बताएकी श्रयलाले उक्त अनुभवले भविष्यमा पदक जित्ने यात्रामा सहयोगी बन्ने बताएकी छिन्।
खेल पछि उनले भनिन् – ” अन्तर्राष्ट्रिय खेलमा उच्च स्तरिय विदेशीहरुसँग प्रतिस्पर्धा गर्न सजिलो नहुने रहेछ। तर मैले ब्राजिलबाट धेरै कुरा सिक्ने मौका पाएँ। यो अनुभवले भविष्यमा थप मेहनत गर्न र पदक जित्न प्रेरित गर्नेछ भन्ने मलाई आत्मविश्वास बढेको छ।”
श्रयला चन्द्रागिरि नगरपालिकाबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने सम्भवत् हालसम्मकै कान्छी खेलाडी समेत हुन्
ब्राजिल प्रस्थान गर्नु अगाडीको बिदाई समारोहमा नेपाली टोलीका प्रमुख मोहन कुमार कार्कीले सानै उमेरमा देशको झन्डा ओढेर खेल्ने अवसर पाउनुलाई श्रयलाको र चन्द्रागिरि नगरपालिकाको लागि गौरवको विषय रहेको बताउनु भएको थियो।
श्रयलाको हौसला वढाउन उनका बुबा नविन महर्जन पनि ब्राजिलमा पुग्नुभएको थियो। बुबा नविनले विश्वका उत्कृष्ठ खेलाडीहरुका माझ छोरीले प्रतिस्पर्धा गरेको दृष्य एकजना नेपालीको रुपमा गौरवको विषय रहेको बताउनुभयो।
“त्यो अन्तर्राष्ट्रिय प्लेटफर्ममा छोरीले जसरी प्रदर्शन गरिन्, एउटा बुबाको रुपमा मेरो लागि शानको विषय हो। अब आगामी दिनमा छोरीले पौडीमा प्रगती गर्न चाहेमा एउटा अभिभावको रुपमा म हरतरहको हौसला दिन तयार छु। ” महर्जनले भन्नुभयो ।
ब्राजिलको राजधानी रियो डी जेनेरियोमा भएको प्रतियोगितामा ४४ देशका २ हजार खेलाडीले विभिन्न १८ खेलमा प्रतिस्पर्धा गरेका थिए।
जसमा नेपालबाट पाँच खेल पौडी, बक्सिङ, टेबल टेनिस, तेक्वान्दो र बास्केटबलबाट १९ खेलाडीहरुले भाग लिएका थिए।
प्रतियोगितामा समग्रमा आयोजक राष्ट्र ब्राजिल प्रथम र चीनले दोस्रो स्थान प्राप्त गर्न सफल भयो। नेपालले तेक्वान्दोबाट १ स्वर्ण र बक्सिङबाट २ कास्य गरी कुल ३ पदक जित्न सक्यो।
आईएसएफ यु-१५ जिम्न्यासाइडः दोश्रो दिनको खेल समाप्तीमा नेपालको पोल्टामा १ स्वर्णसहित ३ पदक
हरेक दुई वर्षमा आयोजना हुने जिम्न्यासाइड १३ देखि १५ वर्ष उमेर समुहका खेलाडीहरुको ‘मिनी ओलम्पिक’ प्रतियोगिता हो। प्रतियोगितामा चन्द्रागिरि नगरपालिका १४ नैकापस्थित ब्राइट फ्युचर माविका उज्वल वाग्लेले पनि सहभागिता जनाएका थिए ।