काठमाडाैंको शीर्ष ५ सामुदायिक विद्यालयमा सूचिकृत बलम्बु माविमा १ वर्षभित्र प्राविधिक शिक्षालय बन्ने
थानकोट ।
बुधबार बिहान सिमिसिमे पानीका बीच चन्द्रागिरि नगरपालिका-१२ बलम्बुस्थित बलम्बु माविको पुरानो भवन रहेको क्षेत्रमा शिक्षक तथा विद्यार्थीहरूको चहलपहल बाक्दै थियो ।
विद्यालयको मुल द्वारमा स्काउटको पोशाकमा छात्र तथा छात्राहरू अतिथिहरूको स्वागतमा लामबद्ध थिए । रातिदेखी नै परेको पानीका कारण कार्यक्रमका लागि राखिएको त्रिपालले पानी धान्न सकिरहेको थिएन् । पुरानो भवन भत्काएर जमिनको सतह मिलाउने क्रम जारी रहेको सो क्षेत्र हिलाम्य थियो । खाली गरिएको जमीनको एक कुनामा पुरोहित मन्त्र उच्चारण गर्दै थिए, वरपर घेरिएर बसेका शिक्षक तथा विद्यार्थीहरू बलिरहेको दियो पानी परेर ननिभोस भनि छाता ओढाएर उभिएका थिए ।
चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, वडा नंं १२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जन लगायतका जनप्रनिनिधि तथा विद्यालयका प्रधानाध्यापक सुमन राउत पनि ओत लागेर बसेका थिए ।
केही बेरमा नगरप्रवक्ता कृष्णप्रसाद खड्गीसँग ‘ह्याट’ लगाएका गहुँगोरो वर्णका व्यक्ति विद्यालय हातामा प्रवेश गरे सबैले कुमले छाता च्यापेरै तालीले स्वागत गरे । उनी थिए वर्ल्ड ड्रिम नामक कोरियन परोपकारी संस्थाका संयोजक सिन वन गन । नगरप्रमुख घनश्याम गिरीले उनलाई खादा तथा सयपत्री फूलको मालाले अभिनन्दन गरे । अनि अतिथिसहित सबैजना पूजाआजा भइरहेको क्षेत्रमा उभिन पुगे, केही त्रिपालमुनी पसे केही छाता मुनि छेलिए । कार्यक्रम थियो बलम्बु माध्यमिक विद्यालयमा विभिन्न निकायको सहयोगमा बन्ने भवनको शिलान्यास समारोह ।
सो भवन कोरियाली संस्था वर्ल्ड ड्रिम, कोरियाली गैरसरकारी संस्थाको नेपाल साझेदार विकासका लागि एैक्यबद्धता नेपाल (सोड नेपाल) तथा चन्द्रागिरि नगरपालिकाको आर्थिक सहयोगमा बन्न लागेको हो । जसको अनुमानित लागत २ करोड ६३ लाख रूपैयाँ रहेको छ ।
जुन लागतको ३० प्रतिशत चन्द्रागिरि नगरपालिकाले ब्यहोर्ने छ । सो विषयमा जेठ २० गते नगर प्रमुख घनश्याम गिरी तथा विद्यालयका प्रधानाध्यापक सुमन राउतबीच सम्झाैता पत्रमा हस्ताक्षर भइसकेको छ (यस सम्बन्धी समाचार पढ्नुहोस्) । बाँकी रकम भने वर्ल्ड ड्रिमले उपलब्ध गराउने छ । १२ महिनाभित्र निर्माण गरिसक्ने अनुमान गरिएको सो भवन तीन तल्लाको हुनेछ । जहाँ पढ्दै कमाउँदै अभियान अन्तर्गत ४ वटा प्राविधिक क्षेत्र (मोबाइल मर्मत, इलेक्ट्रिसियन, ब्युटी पार्लर र अटोमोबाइल) का विषय अध्यापन गराइनेछ ।
वर्ल्ड ड्रिम र सो को नेपाल साझेदार संस्था सोड नेपालबीच दक्षिण कोरियामा साउन १६ गते समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो (सम्बन्धित समाचार पढ्नुहोस्) । कोरिया सरकारसँग चन्द्रागिरि नगरपालिकाले कायम गर्दै आएको भगिनी सम्बन्धले पनि बलम्बु प्राविधिक शिक्षालय निर्माणको कार्यमा साथ सहयोग जुटेको बताइएको छ । बलम्बु माविका प्रधानाध्यापक सुमन राउतका अनुसार सो भवन करिब ६ हजार वर्गफिट क्षेत्रमा बन्नेछ ।