अन्तरार्ष्ट्रिय संगीत प्रतियोगिताका लागि ब्राइट फ्यूचरका विद्यार्थी लखनउ जाँदै, ६ विधामा दाबी पेश हुने

Thankot Times

थानकोट ।

मित्रराष्ट्र भारतको लखनउस्थित विश्वप्रख्यात विद्यालय सिटी मन्टेश्वरीमा अगष्ट १६ बाट सुरू हुने सेलेस्टा अन्तरार्ष्ट्रिय संगीत प्रतियोगितामा सहभागिता जनाउन नेपालबाट २ वटा विद्यालयका विद्यार्थीहरू छनोट भएका छन् ।

संगीतका विभिन्न ७ विधामा प्रतिस्पर्धा गर्न नेपालबाट चन्द्रागिरि नगरपालिका १४ नैकापस्थित ब्राइट फ्यूचर मावि तथा भक्तपुरको माउण्ट भ्यू स्कूलका विद्यार्थीहरूले सहभागिता जनाउन लागेका हुन् ।

सिटी मन्टेश्वरी विद्यालय शिक्षाको क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थाका लागि संसारभरबाट एकपटक पुग्नै पर्ने ‘शैक्षिक धाम’का रूपमा चित्रण हुने गरेको छ ।

यसैबीच सेलेस्टा अन्तरार्ष्ट्रिय संगीत प्रतियोगितामा आफ्नो विद्यालयबाट सहभागिता जनाउने ७ जना विद्यार्थीहरूलाई ब्राइट फ्यूचर माविले आइतबार बिदाइ गरेको छ ।

विद्यालयमा आयोजित बिदाइ कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका सामाजिक विकास संयोजक चन्द्रागिरि-१५ का वडाध्यक्ष घनश्याम लुइँटेल, चन्द्रागिरि नगर शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकारीहरू तथा ब्राइट फ्यूचर माविका प्रधानाध्यापक दयारामा थापा, विद्यालयका अध्यक्ष मोहन कार्कीका अतिरिक्त प्रतियोगितामा सहभागिता जनाउने विद्यार्थीका अभिभावकहरू लगायतको उपस्थिति रहेको थियो ।

सो क्रममा वडाध्यक्ष घनश्याम लुइँटेल, ब्राइट फ्यूचर माविका प्रधानाध्यापक दयारामा थापा, अध्यक्ष मोहन कार्की तथा नगरको शिक्षा शाखाका अधिकारीहरूले शुभकामना मन्तव्य दिनुभएको थियो ।

सो टोली सोमबार लखनउतर्फ लाग्ने सो टोलीका प्रमुख तथा विद्यालयका संयोजक मोहित कार्कीले जानकारी दिनुभयो ।

प्रतियोगितामा श्रावक महर्जन, संस्कृति खड्का, जोयल महर्जन, श्रिनश थापा, अनमोल रिजाल, अनमोल खड्का र समरान्त गिरीले प्रतिस्पर्धा गर्नेछन् भने शिक्षक योगेश गोपालीपनि उनीहरूको साथमा रहनेछन् ।

प्रतियोगिता १९ अगष्टका दिन सम्पन्न हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *