रास्वपाको आरएटी टिमलाई काम नगर्न सिडियोको निर्देशन

थानकोट ।

चितवनको मुग्लिन-नारायणगढ सडक खण्डमा राष्ट्रिय स्वतन्त्र पार्टीले पहिरो पन्छाउन भन्दै खटाएको टिमलाई काम नगर्न जिल्ला प्रशासन कार्यालय चितवनले निर्देशन दिएको छ । 

मुग्लिन सडक खण्डमा हुने सडक अवरोधलाई हटाउँदै यात्रा सहज गर्न भनेर रास्वपाले आरएटी टिम खटाएको थियो । पार्टीले सडक खण्डको कालिखोला क्षेत्रमा सुन्तला रङ्गको ज्याकेट लगाएर वाकीटकी बोकेर हिँड्ने युवा दस्तालाई प्रशासनको अनुमती बिना काम नगर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । 

प्रशासनले बुधबार एक सूचना जारी गर्दै आपतविपद सरकारी संयन्त्र अहिले काम गर्न सक्षम भएकोले अमुक पार्टीको नामबाट काम नगर्न सूचना जारी गरिएको हो । प्रजिअ पौडेलले सुरक्षाकर्मीले बोक्ने वाकीटकी बिना अनुमती अरुले प्रयोग नगर्न समेत निर्देशन दिनुभएको छ । कस्तो अवस्थामा कोको व्यक्तिले सो कार्य गरेको भन्दै प्रहरीलाई अनुसन्धान गर्न समेत प्रजिअ पौडेलले निर्देशन दिनुभएको छ । प्रजिअले जारी गर्नु भएको सूचनामा मुग्लिङ्ग-नारायणगढ सडक खण्डमा जाम परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका टिम कालिखोला लगायत स्थानमा वाकीटकी सञ्चार सहितका युवाको फोटो सहितको पोष्टमा यस कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ जनाएको छ । 

मंगलबार अवरुद्ध भएको सडकमा सुरक्षा निकाय र सडक सहितका राज्यका अङ्गबाट भएको श्रोत साधन र जनशक्ति प्रयोग गरी पहिरो पन्छाई सडक सुचारु गराउन सक्षम छ । ट्राफिक व्यवस्थापन समेत गरि राखेको अवस्थामा कुनै अमुक दल तथा सो अन्तर्गतका संगठनको सहयोग नलिईएको, लिन स्वीकृति नदिइएको जनाइएको छ ।

ती टिमले संचारको साधन वाकिटकी समेत देखिएकोमा उक्त सञ्चार साधन स्वीकृति र दर्तावाल हो होइन छानविन गर्न प्रहरीलाई निर्देशन गरिसकेको पौडेलले बताउनुभयो । 

विपद्का यस्ता घटनाको राहत उद्धार र व्यवस्थापन गर्न सुरक्षा निकाय लगायत राज्यका अङ्गहरु सक्षम रहेको उहाँले बताउनुभयो । यस्तै, उहाँले ठुला विपद्का घटनाहरुमा राजनीतिक दल, नागरिक समाज लगायत आम सर्वसाधारणबाट कुनै दल विशेष वा संगठनको परिचय बिना विशुद्ध स्वयंसेवी भएर काम गर्नका लागि सकिने बताउनुभयो । त्यसरी काम गर्नका लागि जिल्ला, स्थानीय विपद् व्यवस्थापन समितिको स्वीकृति र खटिएका सुरक्षाकर्मीको समन्वयमा काम गर्न सकिने छ । 

प्रमुख जिल्ला अधिकारीको निर्देशनपछि आरएटी टिमलाई रोकिएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका स्वकिय सचिव प्रकाश सिग्देलले जानकारी दिनुभयो । 

रास्वपाका प्रदेशका संयोजक विजय गुप्ताको नेतृत्वमा ५० जना खटिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *