विद्यार्थी संख्या न्यून भएका १४ वटा विद्यालय समायोजन गर्ने कार्यपालिकाको निर्णय

Thankot Times

थानकोट । 

धनगढी उपमहानगरपालिकाले नगरभित्रका विद्यार्थी संख्या न्यून भएका १४ वटा विद्यालय समायोजन गर्ने तयारी गरेको छ।

शनिबार बसेको नगरकार्यपालिका बैठकले केही विद्यालय गाभ्ने र केहीका कक्षाहरू नजिकका विद्यालयमा समायोजन गर्ने निर्णय गरेको हो।

बैठकले आधारभूत तहका चारवटा विद्यालय नजिकका विद्यालयमा पूर्ण रूपमा गाभ्ने निर्णय गरेको छ। त्यस्तै, आधारभूत तहका दुईवटा विद्यालयका १ देखि ५ सम्मका सबै कक्षा, आधारभूत तहकै ६ वटा विद्यालयका ६ देखि ८ सम्मका कक्षा र दुईवटा विद्यालयका ९ र १० कक्षा गाभ्ने निर्णय गरेको हो नयाँ पत्रिकामा खबर छ।

नगरको विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान नियमावलीअनुसार विद्यार्थी संख्या कम भएका, शिक्षक दरबन्दी नभएका विद्यालय नजिकका विद्यालयमा समायोजन गर्न लागेको उपमहानगरले जनाएको छ।

धनगढी उपमहानगरका प्रमुख गोपाल हमालले विद्यालय सुधारको प्रयासलाई अगाडि बढाइएको बताए। सामुदायिक विद्यालयमा नयाँ प्रविधिको प्रयोगसँगै अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गर्न लागिएको उनले जानकारी दिए। 

विद्यालय सुधारका लागि केही नयाँ योजना बनाइएको र त्यसलाई अब कार्यान्वयनमा लगिने कार्यपालिका बैठकमा उनले बताए। शैक्षिक गुणस्तर नहुँदा सरकारी विद्यालय भर्ना हुने दर घट्दै गएको उल्लेख गर्दै उनले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधारको विकल्प नभएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *