नागढुंगा सुरूङ्ग मार्ग खन्दा सतहको पानी सुक्यो, सुरूङ्गबाट निस्कियो प्रतिसेकेन्ड ५० लिटर पानी !

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिकामा निर्माणाधीन सुरूङ्ग मार्ग खन्दा सतही खानेपानीका स्रोत सुकेका छन् । यद्यपी सो सुरूङ्ग मार्गबाट भने विभिन्न तीन स्थानबाट प्रति सेकेन्ड करिब ५० लिटर पानी डिस्चार्ज भइरहेको सुरूङ्ग मार्ग निर्माण आयोजनाले जनाएको छ। 

सुरुङ्ग मार्गमा निस्किएको पानी अवलोकनका लागि मंगलबार नगरप्रमुख घनश्याम गिरीसहित टोली सुरुङ्ग मार्गका दुवै क्षेत्रमा पुगेको थियो । 

सो क्रममा नगर उपप्रमुख बसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्णप्रसाद खड्गी, वडाका अध्यक्षहरु तथा अन्य जनप्रतिनिधिहरुका साथै नगरका प्रमुख प्रशासकीय अधिकृत जीवनप्रसाद आचार्यलगायत नगरपालिकाको प्राविधिक शाखा प्रमुख र अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । सुरुङ्ग मार्गको पश्चिम क्षेत्र (धुनिबेशी तर्फ)१८.७५ लि. प्रति सेकेन्ड तथा सोही क्षेत्रको एकुभेसन सुरङ्ग मार्गबाट १४.९२ लि. प्रति सेकेन्ड र सुरुङ्ग मार्गको पूर्वी क्षेत्र (दहचोकतर्फ) १७.८७ लि. प्रति सेकेन्ड गरि जम्मा ५१.५४ लि प्रति सेकेन्ड पानी निस्किएको विवरण आयोजनाबाट प्राप्त भएको नगरप्रमुख गिरीले जानकारी दिनुभयो ।

सुरङ्ग मार्ग अवलोकनपछि स्थानीय सञ्चारकर्मीहरूसँग बोल्दै नगरप्रमुख गिरीले सुरुङ्ग मार्गबाट बगिरहेको पानीलाई भण्डारण गरि एकीकृत खानेपानी ऐनको अवधारणा अनुसार चन्द्रागिरि नगरपालिका-२ का बासिन्दालाई प्राथमिकतामा राखेर वितरण गर्ने कार्यको गृहकार्य तत्काल शुरु गरिने र अन्य वडालाई पनि आवश्यकता अनुसार पानी वितरण गरिने बताउनुभयो ।

नगर प्रमुख गिरीले नगरमा रहेका अन्य खानेपानीका स्रोतहरूको पहिचानको कार्य जारी रहेको र नगरबासीलाई सुलभ दरमा स्वच्छ खानेपानी उपलब्ध गराउन नगरपालिका कटिबद्ध रहेको धाणा राख्नुभयो ।

नागढुङ्गा सुरुङ मार्गको ९० प्रतिशत निर्माण कार्य पूरा, इकुभेसन सुरूङ खन्न अब ४४ मिटर बाँकी


Leave a Reply

Your email address will not be published. Required fields are marked *