वीर अस्पताल र ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरू

Thankot Times

थानकोट ।

काठमाडाैंको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा आजदेखि बहिरङ्ग सेवा (ओपिडी) बिहान ८ बजेदेखि सुरु भएको छ ।

यसअघि बिहान ९ बजेदेखि ओपिडी सेवा सञ्चालन हुँदै आएको थियो ।

वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले बिरामीलाई सहज सेवा दिने उद्देश्यले ओपिडी सेवा बिहान ८ बजेदेखि सुरु गरिएको जानकारी दिए ।

दुवै अस्पतालमा टिकटको समय बिहान ७ बजेदेखि अपरान्ह २:३० बजेसम्म निर्धारण गरिएको उनले बताए ।

वीर अस्पतालमा शल्यक्रिया सेवा बिहान ८ बजेदेखि सुरु हुने अस्पतालले जनाएको छ । अस्पताल प्रशासनले  सबै कर्मचारीको ई-हाजिरी अनिवार्य गरिएको जनाएको छ । अस्पतालबाट दैनिक तीन हजार बिरामीले ओपिडी सेवा लिइरहेका छन् ।

ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले बिहान ८:१५ बजेदेखि ओपिडी सेवा सुरु गरिएको जानकारी दिएको अनलाइन खबरमा समाचार छ । उनका अनुसार ट्रमा सेन्टरअन्तर्गत रहेका सबै विभागमा बिहानैदेखि ओपिडी सेवा सुरु गरिएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) कार्यकारी परिषदको बैठकले वीर अस्पताल र ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु गर्ने निर्णय गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *