सडक स्तरोन्नति सम्पन्न

Thankot Times

थानकोट । 

लामो समयदेखि अलपत्र परेको मितेरी मार्गको चन्द्रागिरि नगरपालिका-१२, गैरीगाउँदेखि चुनदेवी मन्दिरसम्म जाने सडकको स्तरोन्नति एवं सुधार कार्य सम्पन्न भएको छ । 

उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौँको सहयोगमा उक्त बाटो स्तरोन्नति गरिएको हो । पर्खाल र ढल निर्माण भएपछि त्यस क्षेत्रका स्थानीय बासिन्दालाई सम्भावित बाढीपहिरोको जोखिमबाट सुरक्षित बनाएको छ । दुई वर्षको निरन्तर प्रयासपछि जिल्ला आयुक्त कार्यालयका प्रमुख जगदीश लामिछानेको पहलमा सो बाटोको स्तरोन्नति एवं व्यवस्थित ढल निकासको कार्य भएको हो ।

मितेरी मार्गको निर्माण सडक डिभिजन कार्यालयले गर्दैआएको थियो तर गैरीगाउँ–चुनदेवी मन्दिर खण्ड निर्माणका क्रममा सडक डिभिजन कार्यालयले व्यवस्थित ढल निकासको कार्य नगर्दा त्यस क्षेत्रका बासिन्दा केही वर्षदेखि सास्ती खेप्दैआएका थिए । ढल व्यवस्थित नहुँदा माथि डाँडाबाट आएको भेलले बस्ती नै जोखिममा परेको स्थानीय बासिन्दा विश्वनाथ तिमल्सेनाले बतउनुभएको गोरखापत्रमा खबर छ। अर्का स्थानीय बासिन्दा बाबुराम न्यौपानेले अहिले बाटो निर्माण भएपछि ५० घरपरिवार रहेको बस्ती जोगिएको बताउनुभयो । 

काठमाडौँ जिल्ला आयुक्तको कार्यालयका इन्जिनियर रोशनकुमार चौधरीले स्थानीय उपभोक्ताको जनसहभागितामा आधारित रहेर करिब ८३ लाख रुपियाँको लागतमा ढलसहितको मेसिनरी वाल निर्माण भएको जानकारी दिनुभयो । इन्जिनियरद्वय अमृत तिमिल्सिना र सूर्य परियारले मितेरी मार्गको उक्त सडकखण्डको स्तरोन्नति एवं व्यवस्थित ढल निकासको कार्यले सिङ्गो बस्ती नै सम्भावित बाढीपहिरोको खतराबाट मुक्त भएको बताउनुभयो । 

चन्द्रागिरि नगरपालिका–१२ का सदस्य अञ्जित सापकोटाले बाढीको भेल पसेर सास्ती खेप्दैआएका स्थानीय बासिन्दालाई मितेरी मार्गमा भएको उक्त कार्यले सुरक्षित बनाएको बताउनुभयो । 

प्रतिकात्मक तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *