चन्द्रागिरि नगर मै छन कक्षा ११ पढाइ हुने एक दर्जन शैक्षिक संस्था, कहाँ कुन विषय पढाइ हुन्छ हेर्नुहाेस

Thankot Times

थानकोट ।

गत वर्ष सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएसँगै कक्षा ११ मा अध्ययनका लागि भर्ना खुल्ला भएको छ । 

बिहीबार दिउँसो सो नतिजा प्रकाशन भएसँगै विद्यालयहरूले कक्षा ११ का लागि नयाँ भर्ना खुलेको प्रचार सामाग्रीले छ्यापछ्याप्ती भएका छन् । 

चन्द्रागिरि नगरपालिका क्षेत्रका विभिन्न १२ वटा विद्यालय तथा क्याम्पसहरूमा कक्षा ११ मा विभिन्न विषयमा अध्ययन अध्यापन हुँदै आएको छ । तर विद्यार्थीहरूले स्थानीय विद्यालय तथा क्याम्पसको पठनपाठनमा विश्वास नगर्दा पर्याप्त पूर्वाधार, सुविधा हुँदाहुँदै पनि विद्यालयका कक्षाहरू खाली प्रायः हुने गरेका छन् ।

चन्द्रागिरि नगर क्षेत्रका विभिन्न विद्यालयहरूमा प्राविधिक तथा व्यवसायिक शिक्षा समेत न्यून शुल्कमा अध्ययन अध्यापन हुने गरेको भएपनि ती विषयमा समेत विद्यार्थीले आँखा लगाएका छैनन् । 

चन्द्रागिरिका विद्यालयहरू जहाँ कक्षा ११ को पढाइ हुँदै आएको छः 

मंगलोदय बहुमुखी क्याम्पस, चन्द्रागिरि ४, थानकोटः

वि.सं. २०४५ मा स्थापना भएको मंगलोदय बहुमुखी क्याम्पस काठमाडाैं जिल्लाको पश्चिम क्षेत्रको पहिलो सामुदायिक क्याम्पस हो । मानविकी र व्यवस्थापन शास्त्र संकाय अन्तर्गतका विषयहरू पढाइ हुने यस क्याम्पसमा कक्षा ११ र १२ का अतिरिक्त स्नातक र स्नातकोत्तर तहसम्म अध्ययन अध्यापन हुने गरेको छ । यस क्याम्पसमा कक्षा ११ मा १०७ जना विद्यार्थीहरूको भर्ना लिइने क्याम्पस प्रशासनले जनाएको छ । 

मंगलोदय मा.वि., चन्द्रागिरि ३, थानकोटः
कक्षा ११ मा साताैं वर्ष भर्ना खुलाएको यस विद्यालयमा मानविकी र व्यवस्थापन शास्त्र संकाय अन्तर्गतका विषयहरू अध्ययन अध्यापन हुँदै आएको छ । माध्यमिक शिक्षा परीक्षामा ए प्लस ग्रेडिङ प्राप्त गर्ने विद्यार्थीले पूर्ण छात्रवृत्ति पाउने यस विद्यालयमा ए ग्रेडिङ पाउने विद्यार्थीहरूले ५० प्रतिशत छात्रवृत्ति पाउने विद्यालयले जनाएको छ । गत वर्ष ७१ जना विद्यार्थी कक्षा ११ मा भर्ना भएको यस विद्यालयले यसपटक बढीमा ८० जना विद्यार्थी भर्ना लिने तयारी गरिरहेको छ । 

पश्चिम विन्दु मा.वि. (वेष्ट पोइन्ट मा.वि.), चन्द्रागिरि ३, थानकोटः
कक्षा ११ मा पाँचाै वर्ष भर्ना खुलाएको यस विद्यालयले यसपटक कानुन विषयमा समेत भर्ना खुलाउने तयारी गरेको छ । व्यवस्थापन र विज्ञान शास्त्र संकायमा भर्ना लिँदै आएको यस विद्यालयले बढीमा ४० जना विद्यार्थी भर्ना लिने जनाएको छ । पर्याप्त भाैतिक संरचना भएको यस विद्यालयमा विद्यार्थीहरूले प्रवेश परीक्षामा प्राप्त गरेको अंक तथा माध्यमिक शिक्षा परीक्षामा प्राप्त गरेको ग्रेडिङका आधारमा २५ प्रतिशतदेखी पूर्ण छात्रवृत्तिसम्म पाउने विद्यालयले जनाएको छ । ४० जना विद्यार्थी मात्रै भर्ना लिने यस विद्यालयमा गतवर्ष ३३ जना विद्यार्थी कक्षा ११ मा भर्ना भएका थिए ।

प्रभात मा.वि., चन्द्रागिरि ०७, थानकोट चेकपोष्टः
कक्षा ११ मा छैटाैं वर्ष अध्ययन अध्यापन हुँदै आएको यस विद्यालयमा यस शैक्षिक सत्रमा प्राणी विज्ञान र बाली विज्ञान विषयमा समेत भर्ना खुलेको छ । जुन काठमाडाैं जिल्लामै सामुदायिक विद्यालयहरू भर्ना खुलेको पहिलो अवसर रहेको विद्यालयको दाबी रहेको छ । शिक्षा, मानविकी र व्यवस्थापन शास्त्र संकायका विषयहरू पठन पाठन हुने यस विद्यालयमा बढीमा ८० जना विद्यार्थीहरू भर्ना लिइने विद्यालयले जनाएको छ । गत वर्ष कक्षा ११ मा यस विद्यालयमा १३० जना विद्यार्थीहरू भर्ना भएका थिए ।

३.८० जीपीए भन्दा बढि ग्रेडिङ पाएका विद्यार्थीहरूले यस विद्यालयको कक्षा ११ र १२ मा शतप्रतिशत छात्रवृत्ति पाउने प्रावधान रहेको छ। विद्यार्थीको पारिवारिक आर्थिक अवस्थाका आधारमा विद्यालयले १० प्रतिशत छात्रवृत्ति दिने बताइएको छ ।

काठमाडाैं शिक्षा बहुमुखी क्याम्पस, चन्द्रागिरि १०, सतुगंलः
२०५१ सालबाट कक्षा ११ (तत्कालीन प्रविणता प्रमाणपत्र तह) मा भर्ना लिँदै आएको यस क्याम्पसमा शिक्षा, मानविकी र व्यवस्थापन शास्त्र संकाय अन्तर्गतका विषयहरू अध्ययन अध्यापन हुँदै आएको छ । आन्तरिक र वार्षिक परीक्षामा प्राप्त गर्ने अंकका आधारमा विद्यार्थीहरूले छात्रवृत्ति पाउने गरेको क्याम्पस प्रशासनले जनाएको छ । पछिल्लो वर्ष १५० जना विद्यार्थी कक्षा ११ मा भर्ना भएको यस विद्यालयमा भर्ना हुन चाहने विद्यार्थीहरूले अनिवार्य रूपमा प्रवेश परीक्षा दिनुपर्ने प्रावधान रहेको छ ।

विष्णुदेवी शिक्षा सदन मा.वि. चन्द्रागिरि ११, सतुगंलः
कक्षा ११ मा दोस्रो वर्ष भर्ना खुलाएको यस विद्यालयमा मानविकी तथा व्यवस्थापन संकाय अन्तर्गतका विषयहरू अध्ययन अध्यापन हुने गरेको छ । सो विद्यालयले विपन्न आर्थिक अवस्था भएका विद्यार्थीहरूका लागि शिक्षण पेशामा आंशिक रोजगारीसमेत उपलब्ध गराउँदै आएको विद्यालय प्रशासनले जनाएको छ।  सो विद्यालयमा बढीमा ४० जना विद्यार्थीहरूले भर्ना गर्न सक्ने जनाइएको छ । गत वर्ष ४० जना विद्यार्थीले यस विद्यालयको कक्षा ११ मा भर्ना भएका थिए ।

जेसिस मावि, चन्द्रागिरि ११, सतुगंल
कक्षा ११ मा पाँचाै वर्षको भर्ना खुलाएको यस विद्यालयमा विज्ञान र व्यवस्थापन संकाय अन्तर्गतका विषयहरूमा अध्ययन अध्यापन हुने गरेको छ । चन्द्रागिरि नगरका जुनसुकै विद्यालयका सर्वोत्कृष्ठ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाउने यस विद्यालयले व्यवस्थापन संकाय अन्तर्गतका विषयमा बढीमा ४८ तथा विज्ञान संकायतर्फका विषयमा २४ जना विद्यार्थी मात्रै भर्ना लिने जनाएको छ । गत वर्ष यस विद्यालयमा ४८ जना विद्यार्थीहरूले कक्षा ११ मा भर्ना भएका थिए । मासिक परीक्षामा प्राप्त गर्ने अंकका आधारमा समेत विद्यालयले छात्रवृत्ति उपलब्ध गराउने गरेको विद्यालय प्रशासनले जनाएको छ । 

बलम्बु मा.वि, चन्द्रागिरि १२, बलम्बु
कक्षा ११ मा चाैथो वर्ष भर्ना खुलाएको यस विद्यालयमा व्यवस्थापन संकाय अन्तर्गतका विषयहरू पढाइ हुने गरेको छ । गत वर्ष ४८ जना विद्यार्थीले भर्ना गरेको यस विद्यालयमा यसपटक  ९० जनासम्म विद्यार्थी भर्ना हुन सक्ने विद्यालयले जनाएको छ ।

विद्यामन्दिर मा.वि., चन्द्रागिरि १३, पुरानो नैकाप
प्राविधिक धारको विषय अध्ययन अध्यापन हुने यस विद्यालयमा कक्षा ९ बाट नै सिभिल इन्जिनियरिङ विषय अध्ययन गरेका विद्यार्थीहरू मात्रै कक्षा ११ मा भर्ना हुन पाउने प्रावधान रहेको विद्यालयले जनाएको छ । प्रवेश परीक्षा उत्तीर्ण गरेका बढीमा ८० जना विद्यार्थीहरू यस विद्यालयमा भर्ना हुन पाउने विद्यालय प्रशासनको भनाइ छ । गत वर्ष यस विद्यालयमा ३१ जना विद्यार्थीहरू कक्षा ११ मा भर्ना भएका थिए । 

कंकाली मा.वि. चन्द्रागिरि १३, पुरानो नैकाप
पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरेको यस विद्यालयमा प्राविधिक शिक्षा र व्यावसायिक तालिम विषयमा अध्ययन अध्यापन हुँदै आएको छ । व्यवस्थापन र मानविकी संकायका विषयहरू पढाइ हुँदै आएको यस विद्यालयमा यसपटक कक्षा ११ मा पाँचाै वर्ष भर्ना खुलेको छ । विद्यालय नर्स, छात्रावास, विद्यालय बस सुविधा रहेको यस विद्यालयमा यसपटक कक्षा ११ मा कानुन विषयमा समेत पढाइको तयारी भइरहेको विद्यालयले जनाएको छ । गत वर्ष यस विद्यालयमा प्राविधिक शिक्षा र व्यावसायिक तालिम विषयमा ३५ जना विद्यार्थीहरू भर्ना भएका थिए ।

ब्राइट फ्यूचर मा.वि., चन्द्रागिरि १४, नयाँ नैकाप
कक्षा ११ मा पाँचाैं वर्ष भर्ना खुलाएको यस विद्यालयमा विज्ञान र व्यवस्थापन संकाय अन्तर्गतका विषयहरू अध्ययन अध्यापन हुने गरेका छन् । माध्यमिक शिक्षा परीक्षामा ३.६ जीपीए भन्दा बढि ग्रेडिङ प्राप्त गरेका विद्यार्थीहरूले शतप्रतिशत छात्रवृत्ति प्राप्त गर्ने यस विद्यालयमा विद्यार्थीहरूले प्रवेश परीक्षा प्राप्त गरेको अंकका आधारमा पूर्ण छात्रवृत्ति उपलब्ध गराइने विद्यालयले जनाएको छ । खेलाडीहरूका लागि विशेष शैक्षिक प्याकेजको व्यवस्था गरेको यस विद्यालयले व्यवस्थापन र विज्ञान संकाय अन्तर्गतका कक्षामा हरेकमा बढीमा ८६ जना विद्यार्थीहरू भर्ना लिने जनाएको छ । कुनैपनि खेलकुदसँग सम्बन्धित १८ वर्षभन्दा कम उमेरका विद्यार्थीलाई यस विद्यालयले प्राथमिकताका साथमा भर्ना लिने व्यवस्था गरेको छ । गत वर्ष १२६ जना विद्यार्थीले यस विद्यालयको कक्षा ११ मा भर्ना भएका थिए । 

यी लगायत चन्द्रागिरिमा भीम मावि तथा केभीएस विद्यालयमा पनि कक्षा ११ को पढाइ हुने गरेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *