राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुने, उपचारका लागि काँग्रेस सभापति देउवा सिंगापुर जाँदै
थानकोट ।
राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुँदै छन् ।
मुटुमा समस्या देखा परे पछि हिजो मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लागेका हुन । सो अस्पतालले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
हिजो बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका उनलाई चिकित्सकको सल्लाह अनुसार २४ घन्टासम्म अवलोकनमा राखिएको र आज डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले जानकारी दिए।
यसैबीच नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर जाने भएका छन् ।
उनी नियमित स्वास्थ्य ‘फलोअप’का लागि आज राति त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको उनका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । सभापति देउवाले केही वर्षअघि पेटमा समस्या देखिएपछि सिङ्गापुरमा उपचार गराएका थिए ।
सभापति देउवासँग प्रमुख स्वकीय सचिव भानु देउवा पनि जाँदैछन् ।
पछिल्लो पटक प्रधानमन्त्री भएपछि विभिन्न तहका निर्वाचन र पार्टीको महाधिवेशनमा व्यस्त हुनुपरेका कारण सभापति देउवाको नियमित स्वास्थ्य ‘फलोअप’ हुन सकेको थिएन ।