काठमाडौं महानगरद्वारा दर्ता नै नगरी सञ्चालनमा रहेका दुईवटा अस्पताल सिल
थानकोट ।
काठमाडौं महानगरपालिकाले दर्ता नै नगरी सञ्चालनमा रहेका दुईवटा अस्पताल सिल गरेको छ ।
काठमाडौं महानगरपालिका वडा ६ बौद्धको चाइनिज पिपुल्स अस्पताल र वडा ३२ काटेश्वरमा रहेको सहयात्री अस्पतालमा महानगरको जनस्वास्थ्य विभागले सिल लगाएको हो ।
‘स्वास्थ्य जस्तो संवेदनशील सेवा प्रदान गर्ने ठाउँ दर्ता नै नभएको पाइएपछि बन्द गराएका हौँ’, जनस्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले भने, ‘मानिसको बाँच्न पाउने अधिकारसँग जोडिएको क्षेत्र हो । यसमा हुने सानातिना त्रुटी र लापर्वाहीले मानिसको मृत्यु हुन सक्छ । गलत औषधिको प्रयोगले जीवन अझ अस्वस्थ्य हुन्छ ।
दर्ता नै नगरी सञ्चालन हुने स्वास्थ्य संस्था न सरकारप्रति जिम्मेवार छन्, न नागरिकप्रति । यसकारण हामीले बन्द गराएका हौँ ।’
महानगरले ताला लगाउँदा जम्मा भएका स्थानीयहरू निगरानी बढाएर नियमविपरीतका सबै स्वास्थ्य संस्थालाई बन्द गराउनु पर्ने, औषधिलाई सहज र पहुँचयुक्त बनाउनु पर्ने प्रतिक्रिया दिइरहेका थिए ।
दुवै अस्पताल १५–१५ शैय्याका हुन् ।
चाइनिज पिपुल्स अस्पतालमा अक्युपङ्चर र पाइल्सको उपचारका लागि मानिसहरू आउने गरेका थिए । विभागका प्रमुख पौडेलका अनुसार सहयात्रीमा गर्भपतन सेवा दिने गरिएको थियो ।