चन्द्रागिरि हिल्सको आम्दानी १४१ प्रतिशतले बढ्यो
थानकोट ।
गत आर्थिक वर्षको तुलनामा यस वर्ष चन्द्रागिरि हिल्स लिमिटेडको व्यवसायिक आम्दानी १४१ प्रतिशतले बढ्दा नोक्सानी ८४ प्रतिशतले घटेको हो।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्ममा कम्पनी २ करोड ९४ लाख रुपैयाँ घाटामा छ। गत आर्थिक वर्षको सोही अवधिमा चन्द्रागिरिको घाटा १८ करोड ११ लाख रुपैयाँ थियो। २०७७ साल चैतको तुलनामा नोक्सानी ८४ प्रतिशत घटेको हो।
कोभिड-१९ का कारण श्रृजित असहज परिस्थितिले होटल तथा पर्यटन व्यवसायमा पारेको नकारात्मक प्रभाव चन्द्रागिरि हिल्स लिमिटेडमा पनि देखिएको थियो। हाल कोभिड-१९ को प्रभाव कम हुँदै गएकाले चलायमान हुन थालेको पर्यटकीय गतिविधिले चन्द्रागिरिको नोक्सानी कटौतीमा समेत सकारात्मक असर परेको बीजमाण्डुमा खबर छ।
यस्तै, पर्यटकीय गतिविधि चलायमान हुन थालेपछि गत आर्थिक वर्ष चैतमा २४ करोड ६० लाख रुपैयाँमा सीमित चन्द्रागिरिको व्यवसायिक आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा ४२ करोड रुपैयाँ अधिक छ। आम्दानीमा पोहोर चैतको तुलनामा १४१ ले प्रतिशत बढेको छ।
व्यवसायमा सुधारसँगै चन्द्रागिरिको खर्च पनि उल्लेख्य मात्रामा बढेका छन्। गत आर्थिक वर्षको चैतको तुलनामा कम्पनीको कर्मचारी खर्च ७९ प्रतिशत अधिक बढेको छ भने प्रशासनिक खर्च साढे २६ प्रतिशत बढेको देखिन्छ।
खुद घाटा उल्लेख्य सुधार हुँदा चन्द्रागिरि हिल्स लिमिटेडको प्रति सेयर नोक्सानी पनि १० रुपैयाँ सुधार भएको छ। गत आर्थिक वर्षको चैतमा ११.८१ रुपैयाँ रहेको प्रति सेयर नोक्सानी चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १.९२ रुपैयाँ छ।
समीक्षा अवधिमा चन्द्रागिरिको प्रति सेयर नेटवर्थ ७१ रुपैयाँ छ। गत आर्थिक वर्षको चैतमा प्रति सेयर नेटवर्थ ७९ रुपैयाँ थियो।