‘शिक्षक लाइसेन्सको परीक्षामा सबै सहभागी हुन पाउने घोषणा सरकारको अपरिपक्व निर्णय’- प्रमुख गुप्ता
थानकोट ।
आगामी आर्थिक वर्षका लागि बजेट वक्तव्य जारी गर्ने क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले अध्यापन अनुमति पत्र (टिचिङ लाइसेन्स) को परीक्षामा जुनसुकै विषय पढेका व्यक्तिहरु पनि सहभागी हुन पाउने कानुनी व्यवस्था गर्ने घोषणा गरेपछि यस बारेमा सर्वत्र चासो र चिन्ता व्यक्त भएको छ।
यसअघि शिक्षा विषय पढेकाहरुले मात्र शिक्षक लाइन्सेन्सको परीक्षा दिन पाउँथे ।
सरकारको यो घोषणापछि सतुगंलस्थित काठमाडाैं शिक्षा क्याम्पसका प्रमुख एवं नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष शत्रुध्नप्रसाद गुप्ताले सबै क्षेत्रमा सेवा प्रवेश गर्न आफ्नो आफ्नो क्षेत्रको विषय पढेर उत्तीर्ण भई अनुमति पत्र (लाइसेन्स) लिनुपर्ने तर शिक्षक बन्न जुनसुकै विषय अध्ययन गरेका विद्यार्थीले पनि लाइसेन्स दिन पाउने सरकारको घोषणाप्रति विमति प्रकट गर्नुभएको छ ।
शिक्षा , शिक्षा मनाेविज्ञान, बाल मनाेविज्ञान र शैक्षिनिक कला तथा शिक्षण अभ्यास जस्ता विषयवस्तुकाे जानकारी नभएकाहरुलाई शिक्षक लाइसेन्स दिँदा के साच्चिकै शिक्षामा सुधार आउँछ अध्यक्ष गुप्ताले प्रश्न गर्नुभयो ?
सरकारको यस्तो हचुवा निर्णयले शिक्षा शास्त्र संकाय संचालन भएका क्याम्पसहरू समेत मारमा पर्ने धारणा राख्नुहुँदै प्रमुख गुप्ताले यस्ता अपरिपक्व निर्णयले शिक्षा क्षेत्र तहसनहस हुनसक्ने आशंका व्यक्त गर्नुभयो ।