यातायात कार्यालय गुर्जुधाराको जग्गा खाली, कार्यालय भाडाको घरमा, कस्तो काइदा- सांसद् रमा आलेमगर
थानकोट ।
बागमती प्रदेश सभा सदस्य रमा आलेमगरले गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयको भवन निर्माणका लागि डीपीआर तयार भएर थन्किएको वर्षाैं भइसक्दा पनि अझै निर्माण हुन नसकेकोप्रति आपत्ति जनाउनुभएको छ।
बुधबार बागमती प्रदेश सभामा विशेष समय लिएर बोल्नुहुँदै सांसद् आलेमगरले गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयको नाउँमा चन्द्रागिरि नगरपालिका-५ गुर्जुधारामा २७ रोपनी जग्गा हुँदाहुँदै पनि भाडाका घरबाट कार्यालय सञ्चालन गरिँदा राज्यलाई व्ययभार बढिरहेकोले यथासिघ्र कार्यालय भवन निर्माण गरी कार्यालय सञ्चालनका लागि माग गर्नुभयो ।
उहाँले गत कार्यकालमा गुर्जुधारामा यातायात कार्यालय निर्माण गरी सरकारको व्ययभार कम गराउन भवन निर्माणका लागि डीपीआर समेत तयार भइसकेकोमा संघीय सरकारले सो स्थानमा कार्यालय बनाउन नदिएको आरोप लगाउनुभयो ।
यसैगरी आले मगरले नक्कली भुटानी शरणार्थी प्रकरणमा जनप्रतिनिधिहरू नै संलग्न भएको घटनाप्रति खबरदारी गर्नुहुँदै सो प्रकरणमा मुछिएका जो कोही पनि कानुनी दायरामा आउनुपर्नेमा जोड दिनुभयो ।
सांसद् आले मगरले प्रदेशको राजधानी हेटाैंडा घोषणा भएको ६ वर्ष बितिसक्दा पनि प्रादेशिक राजधानी जोड्ने सडकहरूको दुरावस्था कायमै भएकोप्रति समेत सदनको ध्यानाकर्षण गराउनुभयो । सो क्रममा सांसद् आलेमगरले गतसाताको हावाहुरीका कारण चन्द्रागिरि नगरका विभिन्न स्थानमा कृषि कार्यका संरचनाहरूमा व्यापक क्षति भएकोले सो क्षतिको उचित क्षतिपूर्तिका लागि प्रदेशको कृषि मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको थियो ।