शिवपुरी जंगलमा लागेको डढेलो नियन्त्रणमा आएन
थानकोट ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो मङ्गलबार राति अबेरसम्म पनि नियन्त्रणमा आउन सकेन ।
निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पञ्चकन्या सामुदायिक वनमा लागेको आगो नियन्त्रणका लागि निकुञ्ज, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको अग्निनियन्त्रक टोली परिचालन भएका थिए ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौडेलका अनुसार मङ्गलबार दिउँसो लागेको आगो राति अबेरसम्म पनि नियन्त्रणमा ल्याउन गाह्रो भइरहेको छ ।
आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, स्थानीय तहका दमकलहरूको प्रयोग गरिएका छन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार आगो लागेको जानकारी पाउनासाथ सेनाले आगो लागेको फरक–फरक क्षेत्रमा चारवटा आगो नियन्त्रक टोली परिचालन गरेको छ ।
जसअनुसार निकुञ्जको तारेभिर र रातामाटे वन क्षेत्रमा लागेको आगो नियन्त्रणका लागि मङ्गलबार दिउँसोदेखि नै सेनाका आगो नियन्त्रक टोली परिचालन गरिएको छ ।
त्यस्तै, निकुञ्ज क्षेत्रको बूढानीलकण्ठतर्फको वनमा लागेको आगो नियन्त्रणका लागि नेपाली सेनाको भवानी दल गणबाट १७ जना आगो नियन्त्रक टोली परिचालन गरिएको छ ।
त्यस्तै डिभिजन वन कार्यालय काठमाडौँअन्तर्गतको सुल्ता खान र कौजल वन क्षेत्रमा लागेको आगो नियन्त्रणका लागि सिम्रिक एयरको हेलिकोप्टर परिचालन गरिएको छ । आगो कसरी फैलियो भन्नेबारे खुल्न बाँकी छ । गोरखापत्र दैनिकमा खबर छ ।