काठमाडौं महानगरका विद्यार्थीले निःशुल्क कोडिङ सिक्न पाउने
थानकोट ।
काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका विद्यार्थीले नि:शुल्क कोडिङ सिक्न पाउने भएका छन् ।
महानगरपालिकाको सहजीकरण, डिजिटल बियोन्ड र गुगल एजुकेसन ग्रुप संस्थाको प्राविधिक सहयोगमा १४ सामुदायिक विद्यालयका विद्यार्थीले याे अवसर पाउने भएका हुन् ।
काेडिङ कार्यक्रमका लागि यी विद्यालयमा ‘रास्पबेरी-पीआई कोड क्लब ग्लोबल’ स्थापना गरिएको छ । यी विद्यालयहरू पहिलो चरणका रूपमा यस कार्यक्रममा जोडिएका हुन् ।
यस क्लब सामान्यतः अन्य क्लबजस्तै हुने, तर यसमा स्वयंसेवक शिक्षकले साप्ताहिक रूपमा एक दिन अध्यापन गराउने डिजिटल बियोन्डका संस्थापक तथा कम्प्युटर विषयका लेखक शुलील उप्रेतीले बताए ।
उनका अनुसार यस क्लबमा सहभागी विद्यार्थीलाई २१औं शताब्दीको फोर सी अर्थात् कम्प्युनिकेसन, कोल्याब्रेसन, क्रियटिभीटी, क्रिटिकल थिङ्किङजस्ता सीप कोडिङमार्फत सिकाउन खोजिएको छ ।
यसअन्तर्गत विद्यार्थीले स्क्रयाच, एचटीएमएल/सीएसएस, पाइथन जस्ता प्रोगामिङ ल्याङवेज सिक्न पाउनेछन् । यसले विद्यार्थीलाई सानै उमेरदेखि प्रविधिमा अभ्यस्त हुन सहयोग गर्ने उनको भनाइ छ ।
हाल यस कार्यक्रममा पद्माेदय, दरबार हाई स्कुल, पद्मकन्या, शितला मावि लगायत १४ विद्यालय जोडिएका छन् भने भविष्यमा सबै सामुदायिक विद्यालयमा लैजाने याेजना ल्याइएकाे छ ।