एम्बुलेन्स किन्न चन्दा माग्न आएका कालिकोट बासीलाई एम्बुलेन्स नै दिने मेयर बालेनको निर्णय
थानकोट ।
काठमाडाैं महानगरपालिकाले कालिकोट जिल्लाको एक वडालाई एम्बुलेन्स उपलब्ध गराउने भएको छ ।
‘कर्णाली प्रदेशको कालिकोटबाट एम्बुलेन्स किन्न सहयोग मागिएको रहेछ,’कार्यपालिका बैठकको सामाजिक सञ्जालमा भाइरल भिडियोमा मेयर बालेन्द्र शाह भन्छन्, ‘दुई-तीन लाख सहयोग गर्नुभन्दा एम्बुलेन्सनै सहयोग गर्नु उचित देखिएकाले यो प्रस्ताव पेस गर्दछु।’ चैतको अन्तिम साता भएको उक्त बैठकमा वडा नम्बर ६ का अध्यक्ष भूवन लामाले प्रस्ताव ल्याएको उल्लेख गर्दै मेयर साहले एम्बुलेन्स दिने प्रस्ताव पेस गर्दा बैठकले तालिको गडगडाहटका साथ स्वागत गर्यो।
काठमाडौं महानगरपालिका–६ का वडा अध्यक्ष भूवन लामाले कालिकोटको तिलगुफा नगरपालिकाबाट आएका केही साथीको पीडा आफूले महानगरको मेयरसम्म पुराएको सुनाए। ‘हाम्रो वडाले त ५ देखि १० हजारसम्म दिने सोच बनाएको थियो,’ उनले भने, ‘मेयर साहेबसम्म कुरा पुग्दा एम्बुलेन्सनै दिने माहोल तयार भयो।’
विकट ठाउँमा एम्बुलेन्स दिने महानगरको निर्णयले कालिकोटका साथीसंगै आफुपनि निकै हर्षित भएको लामाले बताए। महानगरले एम्बुलेन्स दिने निर्णय गरे पनि प्रक्रिया पुर्याएर हस्तान्तरण गर्न केही समय लाग्ने देखिएको छ। छिटोभन्दा छिटो एम्बुलेन्स पाउने प्रतीक्षामा रहेका कालिकोटवासीलाई एम्बुलेन्सको खुसीसँगै यसको ढिलाइले केही निराश बनाएको छ।
काठमाडाैं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले प्रक्रिया पुर्याएर विधिसंगत ढंगबाट कालिकोटलाई एम्बुलेन्स दिने निर्णय भएको जानकारी दिए। ‘कार्यपालिकाको बैठकमा आएको प्रस्ताव पास भएको छ,’ मानन्धरले भने, ‘प्रक्रिया पुर्याएर एम्बुलेन्स दिनेछाैं ।’