बागमती प्रदेश युवा परिषद् बाट चन्द्रागिरिसहित ११९ स्थानीय तहमा १-१ जना प्राविधिक नियुक्त

Thankot Times

थानकोट । 

बागमती प्रदेशका १३ जिल्लाका विभिन्न स्थानीय तहमा काम गर्ने गरी मंगलबार बागमती प्रदेश युवा परिषद्ले एक सय १९ जना प्राविधिक नियुक्ति गरेको छ । 

प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश युवा परिषद्ले राष्ट्रिय विकास स्वयंसेवक कार्यक्रमअन्तर्गत विभिन्न विषयका एक सय १९ जना प्राविधिक कर्मचारीहरूलाई स्थानीय तहमा खटाएको हो । 

उनीहरूलाई नियुक्ति-पत्र प्रदान गर्नुपूर्व परिषद्ले हेटौँडामा एकदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्‍यो ।

कार्यक्रममा युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले एक हजार ५ सय जनाले स्वयंसेवकमा काम गर्न निवेदन दिएकोमा एक सय १९ जनालाई काममा खटाइएको जानकारी दिए । 

परिषद्ले सार्वजनिक सूचना प्रकाशन गरेर स्वयंसेवकका लागि आवेदन माग गरेको थियो । 

कार्यकारी उपाध्यक्ष चौलागाईंले प्रदेश युवा परिषदमार्फत कृषि तथा भेटनरी प्राविधिक, ल्याब असिस्टेन्ट, स्टाफ नर्स, अहेब, अनमी, गणित तथा विज्ञान शिक्षकलाई प्रदेशका विभिन्न पालिकाहरूमा खटाएको जानकारी दिए । 

चौलागाईंका अनुसार त्यसरी खटिएका प्राविधिकहरूले प्रदेशको सामाजिक विकास मन्त्रालयबाट परिषद् मार्फत १६ हजारदेखि २० हजार रुपैयाँसम्म तलब पाउनेछन् नयाँ पत्रिकामा खबर छ ।

उनीहरूलाई पालिकाहरूको मागअनुसार कार्यक्षेत्रमा खटाइएको पनि उपाध्यक्ष चौलागाईंले जानकारी दिए । 

अभिमुखीकरण कार्यक्रममा बोल्दै सामाजिक विकासमन्त्री कुमारी मोक्तानले पाएको जिम्मेवारी कर्तव्यनिष्ठ भएर पूरा गर्न आग्रह गरिन् । उनले देशका लागि सेवा गर्ने र आफ्नो क्षमता अभिवृद्धि गर्ने दुवै अवसर भएकोले खटिएका ठाउँमा सेवाग्राहीको मन जित्ने गरी काम गर्न सुझाव दिइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *