चन्द्रागिरि नगरपालिकामा पढ्दै कमाउँदै कार्यक्रम लागु गरिँदै- नगरप्रमुख गिरी
थानकोट ।
चन्द्रागिरि नगरपालिका-११ सतुगंलस्थित विष्णुदेवी शिक्षा सदन माविले स्थापनाको ६८औं वार्षिकोत्सव आइतबार एक कार्यक्रमका बीच मनाएको छ ।
संघीय सांसद् राजेन्द्रकुमार केसी, प्रदेश सभा सदस्य रमा आलेमगर, यमुनादेवी श्रेष्ठ, चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, चन्द्रागिरि नगरपालिका वडा नंं ११ का वडाध्यक्ष नरेन्द्रराज श्रेष्ठ लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थितिका बीच विद्यालयले ६८औं वार्षिकोत्सव मनाएको हो ।
सो क्रममा विद्यालयका प्रधानाध्यापक बसन्त खत्रीले विद्यालयका विविध पक्षका बारेमा प्रकाश पार्नुभएको थियो ।
विष्णुदेवी शिक्षा सदन माविले स्थापनाको ६८औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै संघीय सांसद् राजेन्द्र कुमार केसीले सामुदायिक विद्यालयका विद्यार्थीहरू पनि उच्च शिक्षाको क्षेत्रमा अब्बल भइरहेको बताउनुहुँदै अभिभावकहरूले सामुदायिक विद्यालयको गुणस्तरमा संकोच मान्न पर्ने अवस्था नरहेको धारणा राख्नुभयो । सो क्रममा सांसद् केसीले प्राविधिक शिक्षा अबको आवश्यकता रहेकोमा जोड दिनुभयो ।
यसैगरी प्रदेश सांसद यमुनादेवी श्रेष्ठले सामुदायिक विद्यालयका शिक्षकहरू अब्बल हुँदा हुँदै पनि अभिभावकहरूको मन जित्न नसक्नु दुःखद पक्ष रहेको छ । सांसद् श्रेष्ठले विद्यालयले पनि गुणस्तरीय शिक्षा दिन उपलब्ध साधन तथा स्रोतको भरपुर उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । माैलिक पोशाकले समेत विद्यालयप्रति समुदायले हेर्ने दृष्ट्रिकोण फरक हुने सक्ने सांसद् श्रेष्ठको भनाइ थियो । सांसद् श्रेष्ठले विष्णुदेवी शिक्षा सदन मावि खेल मैदानको अभाव देखिएको हुँदा स्थानीय निकायले यस विषयमा विचार गरिदिन अनुरोध समेत गर्नुभयो । सांसद् श्रेष्ठले संस्कृति सम्बन्धी शिक्षा समेत अनिवार्य गर्न अत्यावश्यक भइसकेको धारणा राख्नुभयो ।
यसैगरी बागमती प्रदेश सांसद् रमा आलेमगरले स्थानीय सामुदायिक विद्यालयमा स्थानीयबासीका छोरा छोरीहरूले अध्ययन गर्न नचाहनु दुःखद रहेको बताउनुहुँदै घर नजिकका विद्यालय छोडेर अन्यत्रका विद्यालयमा छोरा छोरीहरू पठाउनु अभिभावकहरूको रहर हो कि बाध्यता हो भन्ने विषयमा विद्यालय व्यवस्थापनले ध्यान जरूरी रहेको धारणा राख्नुभयो ।
सांसद् श्रेष्ठले सरकारी, सामुदायिक विद्यालयमा पढ्न पठाउँदैमा अभिभावकहरूले हिनताबोध महशुस गर्नु नपर्ने धारणा राख्नुभयो ।
प्रदेश सरकारले शिक्षा क्षेत्रमा देखिने लगानी गरिरहेको बताउनु हुँदै सूचना प्रविधि ल्याब, विद्यालय बस, एक विद्यालय एक नर्स कार्यक्रम लागु गरेको बताउनुभयो ।
यसैगरी चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले चन्द्रागिरि नगर क्षेत्रको पुरानो मध्येको एक विद्यालयको ६८औं वार्षिकोत्सव मनाउन पाउनु नगरकै गाैरवको विषय रहेको बताउनुहुँदै विद्यालयका शिक्षकहरूको महत्वपूर्ण योगदानकै कारण सो विद्यालयले ६८औं वार्षिकोत्सव मनाउन पाएको धारणा राख्नुभयो ।
मेयर गिरीले विद्यालयका सबै विद्यालयमा मन्टेश्वरी कक्षा सञ्चालनका लागि आवश्यक पर्ने भाैतिक सामाग्रीहरूको व्यवस्थापन गरिरहेको समेत जानकारी दिनुभयो । मेयर गिरीले विभिन्न अन्तराष्ट्रिय संस्थाहरूको सहयोगमा नगरका विद्यालयहरूमा प्राविधिक शिक्षाको पठन पाठनको तयारी भइरहेको बताउनुभयो ।
पढ्दै कमाउँदै अभियान चन्द्रागिरि नगरमा लागु गर्न नगरपालिकाले विभिन्न निकायसँग सहकार्य गरिरहेको जानकारी दिनुहुँदै नगरप्रमुख गिरीले समुदायले सामुदायिक विद्यालयमा के कसरी गुणस्तरीय शिक्षा भन्ने विषयमा समेत ध्यान दिन जरूरी रहेको बताउनुभयो ।
यसैगरी नगर उपप्रमुख बसन्ती श्रेष्ठले शिक्षा क्षेत्रमा भइगरेका कार्यहरूको जानकारी दिनुहुँदै सरकारी विद्यालयहरूमा प्रविधिमैत्री शिक्षाका लागि नगरपालिकाले सबै शिक्षकहरूका लागि ल्यापटप दिने व्यवस्था लागु गर्न लागेको बताउनुभयो ।
चन्द्रागिरि नगरपालिका वडा नं. ११ का निर्वाचित सदस्य रहनुभएका विष्णुदेवी शिक्षा सदन माविका व्यवस्थापन समिति अध्यक्ष सिंह बहादुर महर्जनले विद्यालयको शैक्षिक स्तर उकास्न चालिएका कदमहरूका बारेमा प्रकाश पार्नुभएको थियो ।