थप ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि
थानकोट ।
नेपालमा थप ७६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६०३ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १ तथा एन्टीजेन विधिबाट ७५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप २६ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । यो सँगै देशभर रहेका पीसीआर विधिबाट पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या १३७ पुगेको छ ।
सक्रिय सङ्क्रमितमध्ये २४ जनाको संस्थागत आइसोलेसनमा तथा १२ जनाको आईसीयूमा उपचार भइरहेको छ ।
नेपालमा हालसम्म कोरोनाभाइरसको सङ्क्रमणबाट १२ हजार ३१ जनाको मृत्यु भएको छ ।