नेपाल पब्लिक क्याम्पस संघले विश्वविद्यालय अनुदान आयोगलाई बुझायो १२ बुँदे मागपत्र
थानकोट ।
सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघले बुधबार विश्वविद्यालय अनुदान आयोग अध्यक्षलाई विभिन्न माग समेटिएको १२ बुँदे पत्र बुझाएको छ ।
संघका नवनिर्वाचित अध्यक्ष चन्द्रागिरि नगरपालिका-१० सतुगंलस्थित काठमाडाैं शिक्षा क्याम्पसका प्रमुख शत्रुध्नप्रसाद गुप्ताको नेतृत्वमा आयोग पुगेको सो संघका पदाधिकारीहरूले अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारी तथा आयोगका अन्य पदाधिकारीहरूसँग भेट गरी विभिन्न माग प्रस्तुत भएको पत्र बुझाएका हुन् ।
संघले हाल अनुदान आयोगले सामुदायिक क्याम्पसहरूलाई उपलब्ध गराउँदै आएको न्युनतम रकम वृद्धि गरी १५ लाख रूपैयाँ बनाउनु पर्ने माग गरेको छ ।
यसैगरी देशभरका ५ सय ३७ भन्दा धेरै सामुदायिक क्याम्पसहरूले उपभोग गरिरहेका जग्गाहरूको भोगाधिकारको प्रमाण वा स्थानीय पालिकाले सिफारिस गरेमा त्यस्ता क्याम्पपसहरूको भाैतिक योजना स्वीकृत गर्नुपर्ने माग सो पत्रमा उल्लेख गरिएको छ ।
माग पत्रमा सामुदायिक क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको वर्गीकरण गरी स्तर निर्धारण गर्नुपर्ने, शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रदान गर्न र नवीकरण गर्न सहजीकरण गर्नुपर्ने, सामुदायिक क्याम्पसहरूहरूलाई सेवामुलक वर्गीकरण गरी वीथहोल्ड प्यान को व्यवस्था गर्नुपर्ने लगायतका विषय समावेश गरिएको संघका अध्यक्ष शत्रुध्नप्रसाद गुप्ताले जानकारी दिनुभयो ।
अध्यक्ष गुप्ताका अनुसार सामुदायिक क्याम्पसहरूले नियमित अनुदान प्राप्त गर्न विश्वविद्यालय अनुदान आयोगमा प्रस्ताव पेश गर्दा नेपाल पब्लिक क्याम्पस संघको सिफारिस पत्र अनिवार्य हुने गरिएको कुरा कार्यान्वयनमा आइसकेको हुँदा सो पत्रलाई अनिवार्य गरिदिन समेत संघले विश्वविद्यालय आयोगसँग माग गरेको छ ।
अनुदान आयोगबाट राष्ट्रिय क्यालेण्डरको निर्माण गर्नुपर्ने माग राख्दै सामुदायिक क्याम्पस संघले शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्राप्त क्याम्पसहरूले प्राप्त गर्ने अनुदान रकम न्यूनमत ३५ लाख रूपैयाँ हुनुपर्नेमा जोड दिएको छ ।
सामुदायिक क्याम्पसहरूको छाता संघका नवनिर्वाचित प्रतिनिधिहरूसँगको भेटमा अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले संघबाट प्रस्तुत गरिएका मागका कतिपय विषयहरू जायज रहेको बताउनुहुँदै सो को सम्बोधनका लागि आयोगले समन्वय एवं सहजीकरण गर्ने जानकारी गराउनुभयो ।