थानकोटमा ट्राफिक प्रहरीको विशेष चेकिङ, विद्यार्थी बोक्ने बसका चालकले खाएका थिए लागुपदार्थ
थानकोट ।
ट्राफिक प्रहरीले शुक्रबार थानकोट क्षेत्रमा गरेको विशेष चेकिङका क्रममा लागुपदार्थ सेवन गरी विद्यार्थी बोकेको बस चलाउने सहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीका अनुसार स्थानीय एक नीजि स्कुलका विद्यार्थी बोकेको प्रदेश ३ -०१ ००६ ख ०६ ३० नम्बरको बसका चालक धादिङको गल्छी गाउँपालिका ९ का चन्द्र बहादुर तामाङ पक्राउ परेका छन् ।
यसैगरी ग १ य ११ १२ नम्बरको पर्यटक गाडी चालक गल्छी गाउँपालिका ६ का दिर्घ बहादुर मग्राती, बा १६ च ९३ ६९ नम्बरको कार चालक गल्छी गाउँपालिका ३ का रमेश मगर र बा ३१ प ३४ नम्बरका मोटरसाइकल चालक मकवानपुरको हेटौंडाका राजु तामाङलाई पनि लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका सबै चालकहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोटमा राखिएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त थानकोटको संयुक्त टोलीले शुक्रबार २० वटा सवारीसाधनका चालकहरूको जाँच गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउदैँ गरेका उनीहरू पक्राउ परेका थानकोट वृत्त प्रमुख अधिकारीले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।
लागुपदार्थ सेवन गरी विद्यार्थी बोक्ने जस्तो संवेदनशिल सवारी साधन चलाउनु निन्दनीय कार्य भएको र यसरी सवारी साधन चलाउँदा सवारी दुर्घटना हुनुको साथै मानव स्वास्थ्यमा समेत नकरात्मक असर पर्ने भएकाले नशालु पदार्थ सेवन गरी सवारी साधन नचलाउनुहुन चालकहरूलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरेका छन् ।