मातातीर्थ क्षेत्रमा ५० वर्षअघि खिचिएका तस्बिरहरूको प्रदर्शनी आज

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिका-०८ मातातीर्थस्थित वडा कार्यालय हातामा आज सो क्षेत्रका ५० वर्ष अघि खिचिएका तस्बिरहरूको निःशुल्क प्रदर्शनी कार्यक्रम आयोजना हुने भएको छ ।

क्यानेडियन नागरिक लियो गाैलेटले सन् १९७३ ताका मातातीर्थ क्षेत्रमा खिचेका तस्बिरसहित चन्द्रागिरि नगरपालिका क्षेत्रमा पुराना तस्बिरहरूको  प्रदर्शनी बिहान १० बजेबाट सुरू हुने वडाध्यक्ष प्रल्हाद रिजालले जानकारी दिनुभयो । कार्यक्रममा गाैलेटको पनि उपस्थिति रहने बताइएको छ । 

लियो पहिलोपटक मातातीर्थ क्षेत्रमा आइपुग्नु भएको ५० वर्ष पुगेको अवसर पारेर उहाँसँगको अन्तर्क्रियात्मक कार्यक्रमसहित एक दिने फोटो प्रदर्शनी कार्यक्रम आयोजनाको तयारी गरिएको कार्यक्रम संयोजक जीवन नेपालले जानकारी दिनुभयो ।

प्रदर्शनीमा चन्द्रागिरि नगर क्षेत्रका अन्य पुराना चित्र तथा तस्बिरहरूसमेत समावेश हुनेछ । माथवरसिंह थापाका पालामा वि.संं १९०१ सालमा नेपाल भ्रमणमा आएका तत्कालीन पर्सियाका राजकुमार फ्रेडरिक विल्हेम वाल्डेमारले थानकोट क्षेत्रमा कोरेका चित्रहरू पनि प्रदर्शनीमा समावेश गरिने संयोजक नेपालले बताउनुभयो ।

क्यानेडियन नागरिक लियो संयुक्त राष्ट्रसंघीय मिसनमा कार्यरत रहँदा पहिलोपटक सन् १९७३ मा मातातीर्थमा आउनुभएको थियो ।

प्रदर्शनीमा राखिने १७६ वटा तस्बिर मध्ये ४२ वटा तस्बिर पहिले र अहिले शीर्षकमा समावेश गरिने बताइएको छ।
५ दशक अघि र अहिलेको गाउँघरमा कस्तो परिवर्तन आयो भन्ने विषयको अध्ययनका लागि प्रदर्शनी फलदायी हुने अपेक्षासहित प्रदर्शनी आयोजना गर्न लागिएको वडाध्यक्ष रिजालले बताउनुभयो ।
प्रदर्शनीमा समावेश हुने सबै तस्बिरहरू नेपालका पुराना तस्बिरहरू संकलन गर्ने संस्था फोटो म्युजियम नेपालले उपलब्ध गराएको बताइएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *