चन्द्रागिरि नगरमा खानेपानी र सरसफाई हेर्न छुट्टै शाखा, उपभोक्ता समिति एकीकृत गर्ने तयारी
थानकोट ।
खानेपानी र सरसफाई क्षेत्रको नियमनका लागि चन्द्रागिरि नगरपालिकामा छुट्टै शाखाको व्यवस्था गरिने भएको छ ।
शनिबार चन्द्रागिरि नगरपालिका-४ चुनदेवीस्थित चुनदेवी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको तेस्रो साधारण सभालाई सम्बोधन गर्नुहुँदै नगरप्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गीले नगर क्षेत्रमा क्रियाशील खानेपानी उपभोक्ता समितिहरू एकीकृत रूपमा सञ्चालनका लागि आवश्यक विधेयक छलफलको चरणमा रहेको बताउनुभयो ।
नगर क्षेत्रमा सञ्चालनमा रहेका डिपबोरिङहरू खानेपानीको अल्पकालीन स्रोत भएको हुँदा प्राकृतिक मुहानहरूको संरक्षण तथा पानी पुर्नभरणका लागि आगामी वर्षदेखी विशेष कार्यक्रमदेखी बजेट व्यवस्थापनसम्मका लागि आवश्यक तयारी गरिएको जानकारी दिनुहुँदै प्रवक्ता खड्गीले २ वर्षभित्र चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका खानेपानी उपभोक्ता समितिहरू एकीकृत भइसक्ने बताउनुभयो ।
आगामी वर्षबाट खानेपानी तथा सरसफाई नियमनका लागि नगरले सामाजिक विकास शाखा मातहत रहने गरी उपशाखाको व्यवस्था गर्न लागेको प्रवक्ता खड्गीले जानकारी दिनुभयो ।
सो साधारण सभामा संस्थाका अध्यक्ष ईश्वर लामाले संस्थाको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । संस्थाले हाल चन्द्रागिरि नगरपालिका ४ थानकोटका माथिल्लो क्षेत्रका ६ सय ३२ वटा घरमा धारा जडान गरि नियमित रूपमा खानेपानी वितरण गरिरहेको छ ।