इन्द्रस्थानस्थित आफ्नै घरमा सर्दै उपराष्ट्रपति पुन, घर मर्मतका लागि मासिक ८० हजार पाउने

थानकोट ।
सरकारले राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको पदावधि सकिनै लाग्दा अवकाशपछि उनीहरूलाई सेवा-सुविधा दिने तयारी थालेको छ ।
सर्वाेच्च अदालतको आदेशविपरीत कानुन नबनाईकनै मन्त्रिपरिषदबाटै निर्णय गरेर उनीहरूलाई भत्ता, आवास मर्मत खर्च, सहयोगी, गाडी र इन्धनलगायतका सुविधा दिन लागिएको हो ।
राष्ट्रपति भण्डारीलाई अवकाशपछि घर मर्मतका लागि मासिक एक लाख, मासिक भत्ता ५० हजार, गाडी र मासिक दुई सय सात लिटर इन्धन उपलब्ध गराइनेछ । त्यस्तै, स्वकीय सचिव, कार्यालय सहयोगी र चालक सुविधा र घरको बिजुली, पानी, पत्रपत्रिका, इन्टरनेट, टेलिफोनको खर्च सरकारले व्यहोर्नेछ । यसबाहेक २१ जना सुरक्षाकर्मी खटाइनेछन् ।
त्यस्तै, उपराष्ट्रपति पुनलाई अवकाशपछि घर मर्मतका लागि मासिक ८० हजार, मासिक भत्ता ४० हजार, गाडी र मासिक दुई सय सात लिटर इन्धन उपलब्ध गराइनेछ नयाँ पत्रिकामा खबर छ । उनले चालक र एक सहयोगी पनि पाउनेछन् । सुरक्षाका लागि एक जना पिएसओ पनि उनलाई दिइनेछ ।
बिहिबार मात्रै गृहले राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनलाई अवकाशपछि दिने सेवा सुविधाबारे प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा यस्तो प्रस्ताव पठाएको छ । तत्काल नयाँ गाडी खरिद गर्न समय नभएकाले दुवैजनालाई पुरानै गाडी उपलब्ध गराइनेछ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले चन्द्रागिरि नगरपालिका नगरपालिका १ दहचोक इन्द्रस्थानमा निजी निवास निर्माण गरिसकेका छन् ।
‘फिनिसिङ’को केही काम मात्र बाँकी छ । कार्यकाल सकिएपछि उनले पनि निजी निवासमै सर्ने तयारी गरेका छन् । सरकारले उनलाई अवकाशपछि घर मर्मतका लागि ८० हजार, भत्ता ४० हजार र इन्धन २०७ लिटर मासिक रूपमा उपलब्ध गराउनेछ ।