पेट्रोलियम पदार्थको मूल्य स्थिर

थानकोट ।
नेपाल आयल निगम (एनओसी)ले पेट्रोलियम पदार्थको मूल्य स्थिर राखेको छ।
निगमले भारतीय आयल कर्पोरेशन (आइओसी) र नेपाल सरकारलाई गरी १६ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको भन्दै पेट्रोलियम पदार्थको मूल्य स्थिर राखेको हो।
बुधबार आइओसीले ग्यासबाहेक सबै इन्धनको मूल्य घटाएर पठाएको भएतापनि एनओसीले भने आन्तरिक बजारमा मूल्य स्थिर राखेको हो।
आइओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ २१ पैसा र डिजेल प्रतिलिटर पाँच रुपैयाँले घटेको हो।
त्यस्तै मट्टितेल प्रतिलिटर तीन रुपैयाँ ४० पैसा र हवाई इन्धन पाँच रुपैयाँले घटेर आएको छ। एलपिजी ग्यास भने प्रतिसिलिन्डर तीन सय ३९ रुपैयाँले वृद्धि भएको छ।
हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा माग र उत्पादन कटौतीले पेट्रोलियम पदार्थको मूल्य घटबढ भइरहेको छ।