काठमाडौं महानगरमा २-२ वर्षमा घरभाडा १० प्रतिशतका दरले बढ्ने

थानकोट ।
काठमाडौं महानगरपालिका क्षेत्रभित्र घर बहाल रकम निश्चित अवधिमा मात्रै बढ्ने भएको छ । महानगरले ल्याएको ‘घर बहाल व्यवस्था निर्देशिका-२०७९’ अनुसार महानगर भित्र बहालमा दिएका घरहरुले हरेक दुई वर्षमा १० प्रतिशतले बढ्ने उल्लेख गरिएको छ ।
महानगरले तयार पारेको सम्झौता पत्रको ढाँचाको बुँदा नम्बर ७ मा भनिएको छ, ‘घरबहाल रकम प्रत्येक २/२ वर्षमा १० प्रतिशतका दरले वृद्धि हुनेछ ।’
महानगरका राजस्व विभागका प्रमुख ध्रुव काफ्लेका अनुसार यो व्यवस्था कार्यान्वयन भएसँगै घरधनीहरुले मनलाग्दी भाडा उठाउन पाउँदैनन् भने तोकिएको भाडाको आधारमा महानगरमा घर बहाल कर तिर्नुपर्ने हुन्छ ।
घर बहालसम्बन्धी घरधनी र बहालमा बस्ने बीच विवाद भएमा सम्झौताको आधारमा महानगरको न्यायिक समितिले समाधान गर्नेछ ।
घरभाडामा दिंदा र घरखाली भएको सूचना भने सात दिनभित्र महानगरपालिकामा दिनुपर्नेछ । घरखाली भएको जानकारी नगराएको अवस्थामा भने भाडामा लगाउने पक्षले सो अवधिभरको घरबहाल कर महानगरपालिकालाई तिर्नुपर्ने हुन्छ ।