चन्द्रागिरिमा गठबन्धनको बैठक सम्पन्न, उम्मेदवार छनोट सहमति नजिक
चैत्र २९ ।
बैशाख ३० का लागि तय भएको स्थानीय चुनावको मिति नजिकिँदै गर्दा मुलुक चुनावमय देखिन थालेको छ । स्थानीय तहमा आ-आफ्ना दलका तर्फबाट उम्मेदवार छनोट गर्ने कार्यमा राजनीतिक दलहरू व्यस्त बनेका छन् । केहि स्थानीय तहमा सर्वसम्मत रूपमा उम्मेदवार चयन भएका समाचार छन् भने अधिकांश स्थानीय तहमा आकांक्षीहरूको संख्या लामो रहेको बुझिएको छ ।
आसन्न स्थानीय निर्वाचनलाई लक्षित गरि चन्द्रागिरि नगरमा सत्ता साझेदार पाँच दलका नगरप्रतिनिधिहरूको बैठक पनि बाक्लदैं गएको छ । मंगलबार नेपाली काँग्रेसका चन्द्रागिरि नगर उपसभापति राजेन्द्रविक्रम बानियाँको संयोजकत्वमा अन्य ४ दलका प्रतिनिधिहरूको बैठकमा स्थानीय चुनावका बारेमा गम्भिर छलफल भएको बुझिएको छ । छलफलमा सबै पाँच दलका नगर प्रतिनिधिहरूले आ-आफ्नो धारणा राख्नुभएको नेपाली काँग्रेसका नगर सचिव नविन महर्जनले थानकोट टाइम्सलाई जानकारी दिनुभयो । गठबन्धनको अर्को बैठक बैशाख २ गतेका लागि तय भएको र उक्त बैठकमा सम्भावित उम्मेदवारहरूका विषयमा निर्णय हुन सक्ने बताइएको छ ।
बैशाख ३० गतेको स्थानीय चुनावमा चन्द्रागिरि नगरमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) तथा जनता समाजवादी पार्टीबीच गठबन्धन बनाउने यसअघि नै निर्णय गरिसकेका छन् । २७ चैत्रमा बसेको पाँच दलको बैठकले स्थानीय निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको थियो ।