उम्मेदवार सिफारिसका नाममा कांग्रेसमा पैसा उठाउन नपाइने
थानकोट, चैत्र २७ ।
आसन्न स्थानीय तह निर्वाचनका लागि आकांक्षीहरूबाट शुल्क लिने गरेका गुनासा आएपछि सत्तारूढ नेपाली कांग्रेसले कुनै पनि प्रकारका रकम नलिन निर्देशन दिएको छ।
वडाध्यक्ष, गाउँ/नगरका प्रमुख तथा उपप्रमुखमा आकांक्षीहरू धेरै देखिएपछि विभिन्न कार्य समितिले शुल्क लिएर आकांक्षीका नामावली संकलन गरिरहेका थिए।
उम्मेदवारी सिफारिस गर्दा विधान तथा नियमावली विपरीत कुनै पनि प्रकारको रकम माग नगर्न र नगराउन कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले सबै जिल्ला कार्यसमितिलाई पत्राचार गरेका छन्।
पार्टीलाई बुझाउनुपर्ने सदस्यता शुल्क र सहयोग रकम लेबीबाहेक अन्य कुनै पनि रकम उठाउन नमिल्ने कांग्रेसले बताएको छ।
उम्मेदवार सिफारिस गर्दा रकम उठाएको गुनासा केन्द्रमा आएकोले कुनै पनि रकम नउठाउन पत्राचार गरिएको मुख्यसचिव पौडेल बताउँछन्।