आफ्नै पेट्रोलियम ट्यांकर चलाउन पाउनुपर्ने चालकहरूको माग

Thankot Times

थानकोट । 

नेपाल पेट्रोलियम ट्यांकर चालक संघले चालकहरूले आफ्नै पेट्रोलियम ट्यांकर चलाउन पाउनुपर्ने माग राखेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल पेट्रोलियम ट्यांकर चालक संघको दोस्रो राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष ईश्वर लामाले सधैँ परनिर्भर हुनुभन्दा आफूहरूको भविष्यको लागि आत्मनिर्भर हनुपर्ने भएकाले आफ्नै ट्यांकर चलाउन पाउनुपर्ने आफूहरूको माग गरेको बताए ।

उनले देशभर १ हजार ९०० जना पेट्रोलियम ढुवानी गर्ने चालकहरू रहेको उल्लेख गर्दै उनीहरूको भूमिका महत्वपूर्ण रहेको बताए ।

अध्यक्ष लामाले एकपटक चालकहरूका लागि कन्ट्याक्ट नामसारी खुलाइदिन पनि माग गरे। उनले आफूहरूको माग सुनुवाइ नभएमा ३० दिनभित्र ट्यांकरको साँचो हस्तान्तरण गरेर आन्दोलनमा उत्रिने चेतावनी पनि दिए।

नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले ट्यांकर चालकहरूको माग सम्बोधन गर्न विद्यमान ऐन, कानूनहरूमा संशोधन गर्न आवश्यक रहेको बताए ।

उनले विनियमावलीमा भएका केही व्यवस्थासमेत परिमार्जन गर्नुपर्ने अवस्था रहेकाले सम्बन्धित निकायहरूले आ-आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा काठमाडौं क्षेत्र नं. १० बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद राजन केसीले ट्यांकर चालकहरूको स्वरोजगार बन्न पाउनुपर्ने माग सम्बोधनका लागि निर्णय गराउन आफू लागिपर्ने बताए ।

उनले ट्यांकर चालकहरूको पेशा मर्यादित पेशा भएको भन्दै आफूमा हिनताबोध नराखी काम गर्न चालकहरूलाई आग्रह गरे।

कार्यक्रमका बीच नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र बिहार ट्यायांकर चालक उपचालक संघका बीचमा आपसी सहयोग आदान-प्रदान गर्ने गरी ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

समझदारीपत्रमा नेपालको तर्फबाट अध्यक्ष ईश्वर लामा र बिहारको तर्फबाट अध्यक्ष चन्द्रप्रकाश सिंहले हस्ताक्षर गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *