ढुङ्गेअड्डामा सवारी दुर्घटना, दहचोक निवासी ४५ वर्षीय मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु

Thankot Times

थानकोट ।

बिहीबार बिहान चन्द्रागिरि नगरपालिका-१५ ढुङ्गेअड्डामा भएको सवारी दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको ज्यान गएको छ ।

ढुङ्गेअड्डामा ना ६ख ६६१५ नम्बरको ट्रकले प्रदेश ३–०२–०१प ८२५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकलमा सवार धादिङ धुनिबेँसी नगरपालिका-९ घर भई हाल चन्द्रागिरि-१ दहचोक बस्ने ४५ वर्षीय राजकुमार सुनारको आज दिउँसो मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते सुनारको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

ट्रकको ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार एक र पैदलयात्री एक जना गरी दुई जनाको कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

सवारी दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिए पनि ट्रक चालक भने फरार रहेकाले खोजी भइरहेको प्रवक्ता भट्टले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *