राष्ट्रपति भण्डारी दहचोकमा

थानकोट ।
राष्ट्रपति विद्यादेवी भण्डारीले काजी कालु पाँडेको दहचोकस्थित समाधिस्थल र सालिकमा माल्यार्पण गर्नुभएको छ । राष्ट्रपति भण्डारी ३०१औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी दहचोक आइपुग्नु भएको हो ।
सो क्रममा राष्ट्रपति भण्डारीले यहाँस्थित मनकामना मन्दिरमा दर्शन पनि गर्नुभएको थियो । तत्कालीन गोर्खाली सेनाले राजधानीमा आक्रमण गर्नुअघि त्यो मन्दिर बनाइएको विश्वास गरिन्छ । काजी पाँडे पृथ्वीनारायण शाहका सेनापति थिए । नेपाल एकीकरणमा सेनापति पाँडेले गरेको योगदानको कदर गर्दै दहचोकस्थित उनको समाधिस्थलमा सालिक निर्माण गरिएको छ ।
राष्ट्रपति भण्डारीले सोही सालिकमा माल्यार्पण गर्नुभएको हो । विसं १८१४ मा कीर्तिपुरमा भएको लडाइँमा काजी पाँडेले वीरगति प्राप्त गरेका थिए । सो युद्धमा गोर्खाली सेनाका धेरै सैनिक पनि मारिएका थिए । सेनापती पाँडेको निधनपछि उनकै इच्छा अनुसार उनलाई काठमाण्डाै र गोरखा देखिने दहचोकमा सद्गत गरिएको थियो ।