आन्तरिक तर्फको हवाई भाडा घट्यो, काठमाडाैं-धनगढीको भाडा ८ सय ८५ रूपैयाँले घट्यो

थानकोट ।
नेपाल वायु सेवा सञ्चालक संघले आन्तरिक तर्फको हवाई भाडा समायोजन गरेको छ ।
नेपाल आयल निगमले आन्तरिक तर्फको हवाई इन्धनको मूल्य २० रुपैयाँ घटाएसँगै कम्पनीहरूले मूल्य समायोजन गरेका हुन् ।
यसअघि, हवाई इन्धनको मूल्य बढी भएको भन्दै वायु सेवा कम्पनीहरूले हवाई भाडा समेत महँगो राखेका थिए । तर, चर्को विरोध भएसँगै निगमले आइतबार मध्यरातिदेखि लागू हुने गरेर हवाई इन्धनको मूल्य समायोजन गरेको थियो । यससँगै, आन्तरिकतर्फका सबै प्रकारका हवाई भाडा समायोजन भएको संघले जनाएको छ ।
यससँगै, यसअघि प्रतिलिटर १९० रुपैयाँ रहेको हवाई इन्धनको मूल्य १७० रुपैयाँ कायम भएको छ । हवाई इन्धनको मूल्य घटेसँगै नियमित र चार्टडतर्फको हवाई मूल्य घटेको संघले जनाएको छ । यसमध्ये काठमाडौँ–धनगढीको मूल्य सबैभन्दा धेरै घटेको छ । संघका अनुसार काठमाडौँ-धनगढीको हवाई भाडा ८८५ रुपैयाँले घटेको छ ।
