निरन्तर उकालो लाग्दै सुनको मूल्य, ९ महिना अघिको कीर्तिमान तोड्ने प्रक्षेपण

Thankot Times

थानकोट । 

अन्तर्राष्ट्रिय बजारमा निरन्तर सुनको मूल्य बढ्न थालेको छ ।

सुन चाँदीसम्बन्धी जानकारी राख्ने गोल्डप्राइस डटकमका अनुसार अन्तर्राष्ट्रिय बजारमा निरन्तर सुनको भाउ बढिरहेको हो । तथ्यांकअनुसार एक महिनाको अवधिमा सुनको मूल्य ३.७१ प्रतिशतले र ६ महिनाको अवधिमा ४.०८ प्रतिशतले बढिसकेको छ । यो अझै बढ्ने क्रम जारी छ ।

अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय ६१ अमेरिकी डलर छ । यो एक महिनाको तुलनामा ६५ डलर र ६ महिना अघिको तुलनामा ७२ डलरले बढी हो । ६ महिनाअघि सुनको मूल्य प्रतिऔंस १७ सय ८९ अमेरिकी डलर थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्न थालेसँगै नेपालमा समेत बजार भाउ प्रभावित बन्न थालेको छ ।

यतिबेला नेपाली बजारमा सुनको मूल्य विगत १० महिना यताकै उच्च बिन्दुमा पुगेको छ । यद्यपि, सुनको मूल्यले ‘अल टाइम हाइ’ कीर्तिमान भने कायम गरिसकेको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हाल नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख २ हजार ९०० रुपैयाँ छ । जुन, यसअघि २०७८ साल फागुन २३ गतेको कीर्तिमानी मूल्यभन्दा प्रतितोला २ हजार ६०० रुपैयाँले कम हो । उक्त मितिमा नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *