तीन वर्षपछि धादिङमा महोत्सव, पुस ७ गतेदेखि १७ गतेसम्म धादिङ महोत्सव

थानकोट ।
धादिङमा तीन वर्षपछि महोत्सवको आयोजना हुँदै छ । “धादिङको दिगो विकास र अर्थतन्त्रको आधार कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको पूर्वाधार” भन्ने नाराका साथ पुस ७ गतेदेखि १७ गतेसम्म महोत्सव आयोजना हुने भएको हो ।
नीलकण्ठ नगरपालिका ३ धादिङ सदरमुकामको खुलामञ्चमा आयोजना गरिने आठौँ धादिङ महोत्सव कोरोना महामारीपछि पहिलो पटक हुन लागे हो । जिल्लाको सांस्कृतिक विविधताको संरक्षण र आर्थिक, सामाजिक विकासमा टेवा पुर्याउने उद्देश्यसहित महोत्सवको आयोजना गरिएको आयोजक धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुप्रसाद थपलियाले बताए ।
“स्थानीयस्तरमा उत्पादन हुने बस्तु तथा सेवा प्रर्दशनी, खनिजजन्य बस्तुको प्रदर्शनी तथा बिक्री, जिल्लाभित्र पाइने जडिबुटीको प्रदर्शनी तथा बिक्रीमा प्राथमिकता दिएका छौँ,” अध्यक्ष थपलियाले भने, “महोत्सवमा १० करोडको कारोबार हुने र तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । १२० वटा व्यापारिक स्टल रहनेछन् ।”
महोत्सवमा कृषि उत्पादन, इलेक्ट्रोनिक्स, औद्योगिक तथा व्यापारिक सामग्री, घरेलु तथा हस्तकलाका सामान, अटो कम्पनी सोरुम, खाना तथा नास्ता, बैंक तथा बित्तिय संस्थालगायत व्यापारिक स्टल रहनेछन् ।
किसानले उत्पादन गरेका कृषि सामग्रीलाई प्राथमिकता दिँदै खाद्यान्न बाली समूह, दलहन बाली समूह, आलुवाली समूह, तरकारी बाली समूह, काउली बाली समूह, फलफूल बाली समूह, नगदेबाली समूह, विविध समूह (मौरी, च्याउ) र रैथाने बाली समूह (लट्टे जुनेलो, कागनु, उवा आदि) गरी ९ विधामा वर्गीकरण गरेर प्रतिस्पर्धा गरी पुरस्कारसमेत प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।