ब्राजिल र नेदरल्यान्डस् कतार विश्वकपबाट बाहिरिए

थानकोट । पाँच पटकको विश्वविजेता ब्राजिल कतार विश्वकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । पेनाल्टी सुटआउटमा क्रोएसियासँग पराजित हुँदै ब्राजिल घर फर्किने भएको हो ।
ब्राजिलले १९५८, १९६२, १९७०, १९९४ र २००२ मा विश्वकप उपाधि जितेको थियो । २० वर्षपछि पुनः विश्वकपको अर्को उपाधि जित्ने ब्राजिलको सपना हारसँगै चकनाचुर भएको छ ।
यसअघि सेमिफाइनल प्रवेशका लागि भएको निर्धारित ९० मिनेटको खेल गोलरहित भएको थियो । त्यसपछि अतिरिक्त समयमा पनि १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको हो ।
अतिरिक्त समयमा ब्राजिलका लागि नेयमारले अग्रता दिलाएका थिए । तर, खेलको ११७ औं मिनेटमा क्रोएसियाका ब्रुनोले गोल गर्दै टीमलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि दुबैतर्फबाट गोल हुन नसकेपछि खेलको छिनोफानो पेनाल्टीमार्फत गरिएको हो । जितसँगै सेमिफाइनल प्रवेश गरेको क्रोएसिया अघिल्लो विश्वकपको उपविजेता समेत हो । यस्तै शनिबार बिहानीपख सम्पन्न भएको खेलमा अर्जेन्टिनाले नेदरल्याड्सलाई पाखा लगायो । अर्जेन्टिनाले पनि पेनाल्टी सुटआउट (४–३) मै नेदरल्याड्सलाई हराएको हो । अर्जेन्टिना र क्रोएसियाबीचको सेमिफाइनल खेल १४ डिसेम्बरको राति पौने १ बजे हुने छ । खेल कतारको लुसाइल रंगशालामा हुनेछ ।