चन्द्रागिरि केबलकार सञ्चालक समुहको नयाँ केबलकार सेवा फागुन महिनामा निर्माण सम्पन्न हुने

Thankot Times

थानकोट ।

नवलपरासी जिल्लाको गैंडाकोट नगरपालिकास्थित मौलाकालिका मन्दिरमा आगामी फागुनभित्र केबलकार निर्माण सम्पन्न हुने भएको छ । केबलकारका लागि सो क्षेत्रका एक हजारभन्दा बढी रूख काटिएको छ ।

केबलकार सञ्चालनका लागि वन मन्त्रालयले दिएको स्वीकृतिका आधारमा एक हजार ३८ रूख काटिएको डिभिजन वन कार्यालयले जनाएको छ । आईएमई समूहले केबलकार सञ्चालनमा ल्याउन लागेको हो । ‘फागुनभित्र परीक्षण गरी सञ्चालनमा ल्याउने तयारीमा छौं,’ प्रोजेक्ट म्यानेजर गोकुल सावदले भनेका छन् ।

करिब डेढ अर्ब रुपैयाँ लगानीमा निर्माण हुने लक्ष्य राखिएको केबलकार आयोजनामा ५१ प्रतिशत मुख्य लगानीकर्ता आईएमई समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहने बताइएको छ । स्थानीयले कम्तीमा ५० हजारदेखि बढीमा ५ लाख रुपैयाँसम्म लगानी गरेको सावदले बताए । केबलकारले करिब ४ सय जनालाई रोजगारी दिने कम्पनीको भनाइ छ । मन्दिर नजिकमा ५० कोठाको होटल, लज पनि निर्माणाधीन छ ।

केबलकारका लागि ५६ रोपनी जग्गा अधिग्रहण गरिएको छ । कम्पनीले त्यसबापत सरकारलाई ५८ रोपनी जग्गा सट्टा भर्ना दिएको छ । पूर्वी नवलपरासीकै मिथुकरम (दुर्गम पहाडी) को जग्गा किनेर सरकारलाई दिएको हो । केबलकारले अधिग्रहण गरेको जग्गा नेपालकै कुनै स्थानमा सट्टा भर्ना दिनुपर्ने नियम छ ।

चन्द्रागिरि हिल्स र मनकामना केबलकार निर्माण गरेकै अस्ट्रेलियन कम्पनीले यहाँ पनि काम गरिरहेको छ । गैंडाकोट-१ धारापानीमा बटम स्टेशन रहेको केबलकारको माैला कालिका मन्दिर नजिक टप स्टेशन बनेको छ ।

सो केबलकारको लम्बाइ १२ सय मिटर छ । ६ वटा टावर रहने केबलकारमा १४ वटा डब्बा रहनेछन् । एउटा सामान बोक्ने र अर्को एउटा सर्भिसिङ डब्बा हुनेछन् । एउटा डब्बामा एक पटकमा ८ जना अट्ने क्षमता छ । हरेक डब्बा ५ मिनेटमा मन्दिर पुग्ने कम्पनीले जनाएको छ । प्रतिदिन ६ हजार यात्रु आवतजावत गराउन सकिने पनि कम्पनीको विश्वास छ ।

आईएमई समूहले काठमाडौंको चन्द्रागिरिमा पनि केबलकार स्थापना गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *