फिफा विश्वकपः क्वाटरफाइनलमा इङ्ल्यान्ड र फ्रान्सको भेट

थानकोट ।
इङ्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा सेनेगललाई ३-० गोल अन्तरले हराउँदै इङ्ल्यान्ड अन्तिम आठमा पुगेको हो ।
अल बयात स्टेडियममा इङ्ल्यान्डलाई जित दिलाउन जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले एक एक गोल गरे । खेलको ३८ औँ मिनेटमा हेन्डरसनले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा केनले गोल गर्दै इङ्ल्यान्डलाई २-० को अग्रता दिलाए । खेलको ५७ औँ मिनेटमा साकाले गोल गर्दै इङ्ल्यान्डलाई ३-० को जित दिलाए । अब इङ्ल्यान्डले अन्तिम क्वाटरफाइनलमा फ्रान्सको सामना गर्नेछ ।
यसअघि आइतबार राति सम्पन्न खेलमा पोल्याण्डलाई हराउँदै फ्रान्स कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । फ्रान्सले पोल्यान्डलाई ३–१ गोल अन्तरले हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो ।
अल थुमाम स्टेडियममा फ्रान्सलाई जित दिलाउन केलियन एम्बाप्पेले दुई गोल गरे । त्यस्तै ओलिभरले एक गोल गरे । पोल्याण्डका लागि रोबर्टो लेवान्डोस्कीले एक गोल फर्काए । खेलको ४४ औं मिनेटमा ओलिभर जिरुले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका हुन् । जिरुको यो फ्रान्सका लागि कीर्तिमानी गोल हो ।
उनले फ्रान्स राष्ट्रिय टोलीका लागि हालसम्मकै सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । उनले फ्रान्सका लागि ५२ गोल गरे । उनी अघि थिएरी हेनरीको नाममा सर्वाधिक ५१ गोल गर्ने खेलाडीको कीर्तिमान थियो ।
फ्रान्सका लागि खेलको ७४औं मिनेटमा एम्बाप्पेले गोल गर्दै टिमलाई २–० गोलको अग्रता दिलाए ।
खेलका इन्जुरी समयमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–० गोलसँगै जित नजिक लिए । खेलको इन्जुरी समयमा नै लेवान्डोस्कीले गोल गर्दै टिमलाई ३–१ गोलको अवस्थामा ल्याए पनिट पोल्यान्ड ३–१ गोलले पराजित भयो ।