७ दिनसम्म प्राथमिक अस्पताल थानकोटमा नाक, कान र घाँटीको नि:शुल्क परीक्षण सेवा
थानकोट।
चन्द्रागिरि नगरपालिकाले अपाङ्गता भएका व्यक्तिको अन्तरराष्ट्रिय दिवसका अवसरमा प्राथमिक अस्पताल थानकोटमा नि:शुल्क स्वास्थ परीक्षण सेवा सुरु गरेकाे छ ।
हिजाे (शनिबार) देखि सुरु भएकाे साे सेवा सात दिनसम्म जारी रहने नगर प्रवक्ता एवं चन्द्रागिरि ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गीले जानकारी दिनुभयाे ।
नि:शुल्क स्वास्थ परीक्षण सेवा अन्तर्गत नाक, कान र घाँटीको परीक्षण हुने बताइएको छ । याे सेवा बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म उपलब्ध हुने साे अस्पतालका प्रमुख हेमनाथ आचार्यले जानकारी दिनुभयो ।
कुनैपनि व्यक्तिमा नाक, कान र घाँटीको समस्याका कारणपनि अपाङ्गता हुन सक्ने सम्भावना रहेकाले नि:शुल्क रुपमा सात दिने परीक्षण सेवा सुरु गरिएको नगरकाे सामाजिक शाखा प्रमुख रश्मी कर्माचार्यले जानकारी दिनुभयाे ।
यसैबीच चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले समस्त नगरबासीहरुकाे स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै घरदैलो नर्सिङ सेवा सुरुका लागि आवश्यक गृहकार्य जारी रहेकाे बताउनुभएको छ । थानकोट टाइम्ससँगकाे कुराकानीमा नगरप्रमुख गिरीले नगरका सबै वडाहरुमा १-१ जना सामुदायिक नर्सकाे व्यवस्थापन केहि महिनामै भइसक्ने जानकारी दिनुभयाे । चन्द्रागिरि नगरमा सबै वडाहरुमा १-१ जना नर्स तथा १ जना स्वास्थ्य अधिकृतको पदपूर्तिका लागि केहिदिनमा परीक्षा सञ्चालन हुने बताइएको छ ।
चन्द्रागिरि नगरपालिकाले नगरका सबै स्वास्थ्य संस्थाहरूमा वडागत रुपमा वितरण गर्ने गरि ६० वर्ष माथिका मधुमेह, रक्तचापका बिरामीहरुका लागि नि:शुल्क रुपमा औषधि वितरण गरिरहेको छ ।