सात गाउँले जात्राको अनुगमनमा सिसिटिभी प्रयोग हुने, हेल्प डेस्क र एम्बुलेन्स स्ट्याण्डबाई
थानकोट।
चन्द्रागिरि नगरपालिकाको महत्वपूर्ण धार्मिक सांस्कृतिक उत्सव सात गाउँले जात्राको अनुगमन सिसिटिभीबाट पनि गरिने भएको छ ।
मंगलबार चन्द्रागिरि नगरपालिकामा नगरप्रमुख घनश्याम गिरीको उपस्थितिमा सम्बन्धित वडाका वडाध्यक्षहरू, सुरक्षा निकायका प्रतिनिधिहरू सम्मिलित बैठकले जात्रा व्यवस्थपानका लागि विभिन्न १३ वटा निर्णय गरेको नगरप्रवक्ता एवं चन्द्रागिरि-४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गीले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।
बैठकमा नगरप्रमुख घनश्याम गिरीले सात गाउँले चन्द्रागिरि नगरको मात्रै नभई देशभरकै महत्वपूर्ण परम्परागत उत्सव रहेको र यसको प्रवर्द्धन गरि आन्तरिक पर्यटकहरूको उपस्थिति बढाउन प्रचारप्रसारमा जोड दिन आवश्यक भएको धारणा राख्नुभयो ।
प्रवक्ता खड्गीका अनुसार जात्राको अनुगमनमा प्रविधिको भरमग्दुर प्रयोग गर्ने निर्णय भएको छ जसअनुसार जात्रास्थलमा क्लोज सर्किट क्यामेरा (सिसिटिभी) को व्यवस्थापन गरिनेछ ।
त्यस्तै, जात्रामा सम्मिलित भक्तालु एवं दर्शनार्थीहरूको स्वास्थ्य संवेदनशिलता समेतलाई ध्यानमा राख्दै स्वास्थ्य स्वयंसेवीहरूको व्यवस्था हुनेछ भने २४सै घण्टा एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ ।
जात्राका क्रममा प्रयोग हुने सडकहरूको मर्मत सम्भार पहिलो प्राथमिकतामा राखिएको बताउनु हुँदै प्रवक्ता खड्गीले जात्रा मार्गमा आवश्यक पर्ने सडक बत्ति समेत यथासक्य व्यवस्थापनका लागि कार्य सुरू गरिनेछ ।
त्यस्तै, जात्रा सञ्चालनका क्रममा आवश्यक गर्ने सुरक्षा सतर्कता तथा शान्ति सुरक्षा चुस्त राख्नका लागि प्रहरी वृत्त थानकोट, प्रहरी प्रभाग बलम्बु, नैकाप, मच्छेगाउँबाट जनशक्ति व्यवस्थापन गर्ने बैठकले निर्णय गरेको बताइएको छ ।
यसवर्ष सात गाउँले जात्रा मंसिर १५ गतेदेखी १७ गतेसम्म मनाइँदैछ ।
चन्द्रागिरि नगरपालिका ८ मातातीर्थ, चन्द्रागिरि ९ मच्छेगाउँ, चन्द्रागिरि १० बोसिगाउँ, चन्द्रागिरि ११ सतुंगल, चन्द्रागिरि १३ नैकाप, चन्द्रागिरि १४ नैकाप तथा चन्द्रागिरि १५ तीनथानाबाट वर्षेनी चन्द्रागिरि १५ तीनथानास्थित विष्णुदेवीमा विभिन्न सात गाउँबाट रथ यात्रासहित जात्रा मनाउने गरिन्छ । सो क्रममा विष्णुदेवी, भैरव, बालकुमारी लगायतको रथ तीनथानास्थित विष्णुदेवी मन्दिरमा पुर्याउने गरिन्छ ।