आज चन्द्रागिरि-६ मा ढक तराजु जाँच शिविर, ढक तराजु दर्ता र नविकरण नगरे कारबाही हुने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले नेपाल गुणस्तर तथा नापताैल कार्यालय तथा चन्द्रागिरि नगर उद्योग वाणिज्य संघको सहयोगमा नगर क्षेत्रमा ढक, तराजु दर्ता तथा नविकरण शिविर सञ्चालन गरिरहेको छ ।

हिजो चन्द्रागिरि नगरपालिका-८ मातातीर्थबाट सुरू भएको सो शिविर क्रमश नगरका अन्य वडाहरूमा पनि सञ्चालन हुने नगरप्रवक्ता एवं वडा नं. ४ का कृष्णप्रसाद खड्गीले जानकारी दिनुभयो ।

ढक, तराजु दर्ता तथा नविकरण शिविर आज चन्द्रागिरि नगरपालिका वडा नंं ०६ महादेवस्थानको कार्यालयमा हुनेछ । शिविर बिहान १० देखी अपरान्ह ४ बजेसम्म सञ्चालन हुने वडाध्यक्ष सञ्जय सिग्देलले जानकारी दिनुभयो ।

यसअघि सोमबार चन्द्रागिरि ८ मातातीर्थमा सञ्चालित शिविरमा ४१ जना व्यवसायीले सेवा लिएको वडा कार्यालयले जनाएको छ।

 

आम उपभोक्ताहरूको दैनिक जीवनयापनमा प्रत्यक्ष सरोकार राख्ने विषयसमेत रहेको हुँदा ढक तराजुको गुणस्तर जाँचको कार्यक्रम राखिएको चन्द्रागिरि नगरपालिका उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णभक्त श्रेष्ठले जानकारी दिनुभयो । उहाँले ढक तराजुको दर्ता नविकरणले उपभोक्ताले गुणस्तरीय तथा उचित परिणाममा माल सामान खरिदको अधिकार थप सुरक्षित हुने बताउनुभयो ।

यसपछि ढक तराजु दर्ता एवं नविकरण नगरी प्रयोगमा ल्याएको पाइएमा कानुनबमोजिम कारबाही हुने नगरपालिकाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *