चन्द्रागिरि नगरमा भोलिबाट ढक तराजु जाँच शिविर
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरि नगर उद्योग वाणिज्य संघको सहयोगमा नगर क्षेत्रमा ढक तराजु दर्ता तथा नविकरण शिविर सञ्चालन गर्ने भएको छ ।
मंसिर १२ गते सोमबार चन्द्रागिरि नगरपालिका-८ मातातीर्थबाट सुरू हुने सो शिविर क्रमश नगरका अन्य वडाहरूमा पनि सञ्चालन हुने नगरप्रवक्ता एवं वडा नं. ४ का कृष्णप्रसाद खड्गीले जानकारी दिनुभयो ।
नगरप्रमुख घनश्याम गिरीले समस्त नगरबासीहरूको दैनिकीसँग प्रत्यक्ष जोडिएको विषयमा एकरूपता ल्याइ गुणस्तरीय व्यापार व्यवसाय सञ्चालनमा यो शिविर थप सहयोगसिद्ध हुने विश्वास लिएको जानकारी दिनुहुँदै चन्द्रागिरि नगरक्षेत्रमा व्यापार व्यवसायमा संलग्न सबैले सम्बन्धित वडाहरूमा सञ्चालन ढक तराजु जाँच शिविरमा आ-आफ्नो व्यापार व्यवसायमा प्रयोग हुने ढक तराजु अनिवार्य रूपमा दर्ता तथा नविकरणका लागि अनुरोध गर्नुभयो ।
ढक तराजु परीक्षाणका क्रममा व्यापारी, व्यवसायीहरूले नागरिकता प्रमाणपत्रको छायाँप्रति, उपलब्ध भएमा व्यवसाय दर्ता प्रमाणपत्रको छायाँप्रति समेत संलग्न गर्नुपर्नेछ । साथै, ढक तराजु खरिद गरेको ३५ दिन नकटेको अवस्थामा सो को बिल तथा कटेको अवस्थामा ढक तराजु अनिवार्य रूपमा शिविरमा लानुपर्ने बताइएको छ ।
ढक तराजु परीक्षण शिविर सोमबार चन्द्रागिरि नगरपालिका-८ मातातीर्थमा सञ्चालन हुनेछ भने। सो शिविर मंसिर १४ गते बुधबार चन्द्रागिरि नगरपालिका-७ चेकपोष्टमा सञ्चालन हुनेछ भने सो अघि मंसिर १३ गते मंगलबार चन्द्रागिरि नगरपालिका -६ चेकपोष्टमा शिविर सञ्चालन हुनेछ।
आम उपभोक्ताहरूको दैनिक जीवनयापनमा प्रत्यक्ष सरोकार राख्ने विषयसमेत रहेको हुँदा ढक तराजुको गुणस्तर जाँचको कार्यक्रम राखिएको चन्द्रागिरि नगरपालिका उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णभक्त श्रेष्ठले जानकारी दिनुभयो । उहाँले ढक तराजुको दर्ता नविकरणले उपभोक्ताले गुणस्तरीय तथा उचित परिणाममा माल सामान खरिदको अधिकार थप सुरक्षित हुने बताउनुभयो ।
यसपछि ढक तराजु दर्ता एवं नविकरण नगरी प्रयोगमा ल्याएको पाइएमा कानुनबमोजिम कारबाही हुने नगरपालिकाले जनाएको छ ।