नेपाललाई घरेलु भूमिमा पहिलो क्रिकेट शृंखला, युएई ६ विकेटले विजयी

थानकोट ।
तेश्रो तथा निर्णायक खेलमा युएईलाई ६ विकेटले पराजित गर्दै नेपालले युएईसँगको एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला २-१ ले जितेको छ ।
अन्तिम तथा तेस्रो एक दिवसीय अन्तर्राष्ट्रियमा नेपालले युएईले दिएको १७७ रनको लक्ष्य ४०.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्ने क्रममा ओपनर आशिफ र तेस्रो नम्बरमा ब्याटिङ गरेका ज्ञानेन्द्रले अर्धशतकीय योगदान गरे ।
अर्का ओपनर अर्जुन साउद ९ रनको व्यक्तिगत स्कोरमा आउट हुँदा नेपालले १० ओभरमा २४ रन बनाएको थियो । त्यसपछि आएका ज्ञानेन्द्रले आशिफसँग मिलेर दोस्रो विकेटका लागि १२२ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।
दोस्रो विकेटमा नेपालका लागि यो कीर्तिमानी साझेदारी हो । यसअघि ओमानसँग यी दुईले नै ९२ रनको साझेदारी गरेका थिए ।
३३.१ ओभरमा आयन खानको बलमा एलबीडब्यू आउट हुनुअघि ज्ञानेन्द्रले ७३ बलमा ७ चौका र ३ छक्कासहित ६४ रन बनाए । एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो पाँचौं अर्धशतक हो ।
१ अगष्ट २०१८ मा नेपालले खेलेको पहिलो एकदिवशीय अन्तर्राष्ट्रिय खेलमा नेदरल्याण्ड्सविरुद्ध अर्धशतक बनाएका ज्ञानेन्द्रले एकदिवशीय अन्तर्राष्ट्रिय करिअरमा २२ इनिङ्स खेलेर ५ अर्धशतकसहित ५७० रन बनाएका छन् ।
एकदिवशीय अन्तर्राष्ट्रियमा पाँचौं अर्धशतक बनाएका आशिफ ८८ रनमा अविजित रहे । उनले ११९ बलमा १२ चौका प्रहार गरे । कप्तान रोहितकुमार पौडेलले १० रन बनाए ।
७ सेप्टेम्बर २०२१ मा पपुवा न्युगिनीसँगको खेलमा एकदिवशीय अन्तर्राष्ट्रिय डेब्यू गरेका आसिफले चार महिनाअघि आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत स्कटल्याण्डविरुद्ध ७१ रनको अर्धशतकीय पारी खेलेका थिए । उनले चार खेलपछि अर्धशतक बनाएका हुन् ।
युएईले आठ जना बलर प्रयोग गरेको थियो । आयान खान र हजरत विलालले १–१ विकेट लिए ।
यसअघि आयान खान र हजरत विलालले अन्तिम विकेटका लागि ८३ रनको अविजित साझेदारी गरेपछि टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा ९ विकेट गुमाएर १७६ रनको योगफल खडा गरेको थियो ।
खराव सुरुवात गरेको युएईमाथि नेपालका बलरहरुले दवाव राखेका थिए । ३१.१ ओभरमा ९३ रनको स्कोरमा नवौं विकेट गुमाएको युएईलाई एक सय रनको योगफल बनाउन पनि कठिन हुन थालेको थियो ।
तर, आठौं नम्बरमा आएका आयन खान र एघारौं नम्बरमा आएका हजरतले पूरा ओभर खेलेर युएईलाई सम्मानित अवस्थामा पुर्याए ।
आयनले ६३ बलमा खेलेर ७ चौका र १ छक्कासहित ५४ रनको अर्धशतकीय पारी खेले । हजरतले ५४ बलमा २० रन बनाए ।
अन्तिम विकेटका लागि यो साझेदारी इतिहासकै चौथो सर्वाधिक साझेदारी हो । सन् १९८४ मा भिभियन रिचर्ड र माइकलले वेष्ट इण्डिजका लागि इंग्ल्याण्डविरुद्ध अन्तिम विकेटमा १०६ रनको कीर्तिमानी साझेदारी गरेका थिए ।
यसअघि सुरुवाती तीन विकेट सस्तैमा गुमाएको युएईका लागि रोहन मुस्तफाले २४ तथा अलिसन शराफुले ३३ रन जोडे । यी दुईले चौथो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए ।
७ जना बलर प्रयोग गरेको नेपालका लागि गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले २–२ विकेट लिए । सोमपाल कामी र ललित नारायण राजवंशीले १–१ विकेट लिए ।
तीन खेलको शृंखलाको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो भने दोस्रो खेलमा नेपालले ३ विकेटको जित निकालेको थियो ।