काठमाण्डाै क्षेत्र नं. ९ मा प्रचण्डको अन्तिम चुनावी सम्बोधन

Thankot Times

थानकोट । 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशव्यापीरुपमा वाम-लोकतान्त्रिक गठबन्धनका पक्षमा जनलहर देखिएको बताए । काठमाडौँ निर्वाचन क्षेत्र नं ९ को डाँडापौवामा आज आयोजित जनसभालाई सम्बोधन गर्दै देशभरबाट गठबन्धनका उम्मेदवार विजयी हुने सुनिश्चित भएको दाबी गरे।

‘प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र मैले देशभरका चुनावीसभालाई सम्बोधन गर्न जाँदा गठबन्धनको पक्षमा जनलहर आएको पायौँ’, उनले भने ।

राष्ट्रिय एकता, शान्ति र समृद्धिका लागि गठबन्धन गरिएको प्रष्ट पार्दै उनले निर्वाचनपछि गठबन्धनले संविधानको रक्षा, विकास र समृद्धि दिने प्रतिबद्धता व्यक्त गरे । ‘हामी अब सम्पूर्ण तागत विकास र समृद्धिमा लगाउछौँ’, अध्यक्ष दाहालले भने, ‘गठबन्धनको ध्यान विकास र समृद्धिमा जान्छ ।’

अग्रगमन र प्रतिगमनकारी शक्तिबीचको लडाँईंका रुपमा निर्वाचन अगाडि आएको जनाउँदै उनले आसन्न निर्वाचनबाट प्रतिगमनकारीलाई परास्त गर्नुपर्ने बताए ।

मुलुकमा राजनीतिक स्थिरता दिने र आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यसहित अघिल्लो निर्वाचनमा वाम–गठबन्धन बनाइएको प्रष्ट पार्दै उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका कारण जनअपेक्षा पूरा गर्न नसकिएको बताए ।

काठमाण्डाै क्षेत्र नं. ९ मा प्रतिनिधि सभातर्फ गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)बाट कल्पना धमला, यस क्षेत्रको प्रदेश १ र २ मा नेपाली काँग्रेसका नानु बास्तोला र श्यामकृष्ण खड्का उम्मेदवार छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *