कतार विश्वकप नेपाली दर्शकले टेलिभिजनमा प्रत्यक्ष हेर्न नपाउने सम्भावना

थानकोट ।
मंसिर ४ गतेबाट कतारमा सुरु हुन लागेको फिफा विश्वकप फुटबलको टेलिभिजन प्रत्यक्ष प्रसारण नेपाली दर्शकले हेर्न नपाउने सम्भावना बढेको छ ।
फिफा विश्वकप प्रसारणसम्बन्धी कार्य रोक्ने गरी सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि विश्वकप प्रसारण अन्योलमा परेको छ ।
मंगलबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले विश्वकप प्रसारण सम्बन्धी कार्यलाई यथास्थितिमा राख्नू भनी अन्तरिम आदेश दिएको छ । अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा छलफल गर्न कात्तिक ३० गते छलफलका लागि बोलाइएको छ ।
विश्वकप प्रसारणको अन्तिम तयारी भइरहेका बेला आएको यस्तो आदेशले तयारी रोक्नुपर्ने अवस्था आएको मिडिया हबका कार्यकारी निर्देशक सोम धिताल बताउँछन् । ‘हामीलाई अदालतमाथि पूरा विश्वास छ तर ३० गते नै सुनुवाइ हुँदा पनि प्रसारणका लागि तयारी पुग्दैन,’ धितालले भने, ‘नेपाली दर्शकले विश्वकप नै हेर्न नपाउने हुन् कि भन्ने जोखिम बढ्यो ।’
अनलाइनखबरबाट ।