नागढुङ्गा सुरुङमार्ग निर्माणको काम ६७% भन्दा बढी सकियो, फ्लाइ ओभरको बेस ८५% बन्यो
थानकोट ।
नागढुङ्गादेखि धादिङको सिस्ने खोलासम्म जोड्ने सुरुङमार्गको काम ६७ प्रतिशतभन्दा बढी सकिएको छ । २०८० साउनसम्ममा निर्माण सम्पन्न हुने भनिएको सुरुङमार्गको आयोजनाअन्तर्गत सुरुङ खन्ने काम ६७ दशमलव ३० प्रतिशत पूरा भएको छ ।
२ हजार ६ सय ८८ मिटर लम्बाइ रहेको मुख्य सुरुङको १ हजार ६ सय ४२ मिटर खनिसकिएको छ भने २ हजार ५ सय ५७ मिटरको सहायक सुरुङ १ हजार ८ सय ६० मिटर खनिएको छ । मुख्य सुरुङ पूर्वबाट ७ सय ९५ दशमलव ६० मिटर र पश्चिमबाट ८ सय ४६ दशमलव ४० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ ।
त्यस्तै, सहायक सुरुङ पूर्वबाट एक हजार मिटर र पश्चिमबाट ८ सय ६० मिटर निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ । १ सय २८ मिटर खन्नुपर्ने क्रस प्यासेज पूर्वतर्फबाट ३८ दशमलव १० र पश्चिमतर्फ ३६ दशमलव १० गरी ७४ दशमलव २० मिटर खनिएको छ ।
आयोजनाका अनुसार, १ सय २६ मिटर वर्किङ अडिटको काम सम्पन्न भइसकेको छ । सुरुङमा कंक्रिट लाइनिङको कार्य २९ दशमलव ७० प्रतिशत सम्पन्न भइसकेको छ ।
सुरुङबाहेकका तीनवटै अण्डर पास सम्पन्न भएको छ भने चारवटा बक्स कल्भर्ट, एउटा ओभर पास र तीनवटा पुल निर्माण कार्य सम्पन्न भएको छ ।
त्यसैगरी एउटा फ्लाइ ओभर निर्माणाधीन छ । सुरुङमार्गका सम्पूर्ण संरचनासहित समग्र भौतिक प्रगति भने ४५ प्रतिशत मात्र रहेको र वित्तिय प्रगति ४८ दशमलव ८३ रहेको आयोजनाले जनाएको छ । २ कात्तिक २०७६ मा नागढुङ्गादेखि धादिङको सिस्ने खोलासम्म जोड्ने सुरुङमार्गको उद्घाटन भएको थियो ।